रौतहट : पूर्वमन्त्री तथा आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहले साक्षरता अभियानले मौलापुर नगरपालिकाको गौरव बढाएको बताएका छन्।
रौतहटको मौलापुर नगरपालिकाद्वारा आयोजित मधानी महोत्सवको संयुक्त रुपमा आइतबार उद्घाटन गर्दै पूर्वमन्त्री साहले यस्तो बताएका हुन्।
मौलापुर नगरपालिका पतौरा स्थित धार्मिक,सांस्कृतिक,पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गराउने संकल्प सहित सुरु भएको मधानी महायज्ञ पाँच दिनसम्म चल्नेछ।
सो महोत्सवको आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह र मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले संयुक्त रूपमा उद्घाटन गरेका हुन ।
प्रत्येक वर्ष भगवान शिव पार्वतीकोको विवाह उत्सवको रुपमा मनाईने मधानी महायज्ञले धर्म,संस्कृतिको संरक्षण हुने उनले बताए । नेपाल र भारतका लाखौं दर्शनार्थीहरु दर्शन गर्न यहाँ आउँने उनले जनाए।
यसले दुई देशको सम्बन्ध अझै बलियो बनाउँने विश्वास उनले व्यक्त गरे।साधुसन्त,कलाकार सहित प्राचिन दंगल कार्यक्रममा लाखौंको सहभागिता हुनेगरेको छ’, साहले भने, ‘यसले नेपाल भारतको सम्बन्ध अझै बलियो बनाउँछ। दुई देश र नागरिकको सम्बन्ध बलियो बनाउँदै धर्मसंस्कृतिको जर्गेना समेत हुन्छ । व्यापार,व्यवसाय समेत यसले बढाउछ ।’
नेपाल र भारतको सम्बन्ध जोडने मधानी महोसत्वमा सबैको चासो रहेको उनले बताए। उनले यसलाई व्यवस्थित रुपमा अगाडी बढाउँनुपर्ने बताए। नेपाल र भारतका भक्तजनहरुको साझा स्थल रहेको मधानी महायज्ञ अन्तर्राष्ट्रिय रुपमा अगाडी बढीरहेको उनले बताए ।
उनले मौलापुर हरेक क्षेत्रमा सराहनीय काम गरिरहेको बताए । शून्य कर नीतिदेखी लिएर,शिक्षा,स्वास्थ्य,यातायात लगायतका क्षेत्रमा मौलापुर नगरपालिकाले गरिरहेको काम उदहरणीय रहेको उनले बताए। अरु नगरपालिकाले समेत सिक्न आइरहेकोमा उनले खुशी व्यक्त गरे।
मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहको अध्यक्षतामा मधानी महोत्सवको उद्घाटन भएको हो। यहाँ विभिन्न विद्यालयका विद्यार्थीहरुले शिक्षा/साक्षारत केन्द्रीत सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन। मेयर साहले यसलाई ढिलाई नगरी विश्वसम्पदा सूचीमा यसलाई सूचीकृत गर्नुपर्ने माग सरकारसंग गरिन् ।
मधानी महायज्ञ प्राचिन यज्ञ भएको र यहाँ ब्राह्मण बिना नै मन्त्रको जप हुने गरेको छ। ११ फागुनदेखी सुरु भएको मधानी महोत्सव १२ फागुनमा शिव वारात यात्रा,१३ गते मधानी विशेष पूजा समारोह,१४ गते मधानी विशेष सांस्कृतिक समारोह र १५ गते मधानी विशेष दंगल कार्यक्रम रहेको छ ।
मधानी महायज्ञमा नेपाल र भारतका चर्चिक कलाकारहरु आउदैछन्। हिन्दी,भोजपुरी सिने जगतका चर्चित कलाकार एवं सांसद रवि किशन,भोजपुरी सिने जगतका लेखक,निर्माता तथा विधायक बिनय बिहारी,‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डेको महायज्ञमा हुने विशेष प्रस्तुति रहने आम सांस्कृतिक मोर्चाका इन्चार्ज विजय यादव निर्विजले जनाएका छन् ।
मधानी महायज्ञमा महाकुम्भ मेलाका भाईरल गर्ल मोनालिसा सहित मिंटुवा भोजपुरीया (कलाकार),सुनील पंडित (गायक),अनु चौधरी (गायिका),सदाम हुसेन (कलाकार),रचना सिवाकोटी ( कलाकार), रुद्र नारायण तिवारी (गायक),प्रीति आर्या पासवान (कलाकार), प्रिया सुहानी (कलाकार),रोसनी राज (कलाकार),सरिता साह (कलाकार),अर्जुन बीसी (कलाकार),मनीषा राई (कलाकार) सहितका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कलाकारहरुको समेत सहभागिता हुदैछ।

