रौतहट : पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दीमा गाडीकोे ठक्करबाट एउटा निलगाई मरेको छ।
लालबन्दी नगरपालिका–९, स्थित डिभिजन वन कार्यालय नजिक सो घटना भएको हो। नवलपुरबाट लालबन्दीतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२२ च ३७४९ नम्वरको कारमा ठोक्किँदा निलगाई मरेको हो।
निलगाईसँग ठोक्किँदा कारको अगाडिपट्टीको भाग कुच्चिएको छ। दुर्घटनापछि कार चालक सम्पर्कविहीन भएका छन्।
कारको ठक्करबाट मरेको निलगाई र दुर्घटनामा परेको कार डिभिजन वन कार्यालयमा ल्याएर राखिएको कार्यालयका वन अधिकृत सागर बस्यालले साझेदारी दैनिकलाई जानकारी दिए।
वयस्क हुने क्रममा रहेको निलगाई कारको ठक्करबाट घटनास्थलमै निलगाई मरेको बस्यालले बताए।
कारका चालक सम्पर्कमा आएपछि राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार कारवाही चलाइने डिभिजन वन कार्यालयका वन अधिकृत बस्यालको कथन छ।

