जीतपुर । वर्षौंदेखि बसोबास गर्दै आए पनि जग्गाको कानुनी स्वामित्व पाउन नसकेका बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ का ५७९ लाभग्राहीको लालपुर्जा प्राप्त गर्ने प्रक्रिया अघि बढाइएको छ । उपमहानगरपालिकाले आवश्यक कागजातसहित उनीहरूको विवरण नापी तथा मालपोत कार्यालय कलैयामा पठाएको छ ।
उपमहानगरपालिकाको भूमि व्यवस्था तथा सहकारी शाखा र राजस्व शाखाका प्रतिनिधिसहित वडाध्यक्ष चयन गुरुङको टोलीले बिहीबार सम्बन्धित कार्यालयका कर्मचारी मनोहर मिश्रालाई लाभग्राहीका फाइल हस्तान्तरण गरेको हो ।
उपमहानगरपालिकाको ७१औँ कार्यपालिका बैठकको निर्णयअनुसार भूमिसम्बन्धी समस्या समाधानका लागि फाइल बुझाइएको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार फाइल बुझाइएकामध्ये १४ जना भूमिहीन दलित, १३६ जना भूमिहीन सुकुम्बासी र ४२९ जना अव्यवस्थित बसोबासी छन् ।
यसअघि जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नम्बर १, २, १८ र २१ का लाभग्राहीको विवरणसमेत सम्बन्धित कार्यालयमा बुझाइसकिएको छ । वडा नम्बर १४ को प्रक्रिया अघि बढेसँगै उपमहानगरपालिकाका पाँचवटा वडाका भूमिहीन तथा अव्यवस्थित बसोबासीले लालपुर्जा प्राप्त गर्ने प्रक्रियामा प्रवेश गरेका छन् ।
जग्गाको स्वामित्वसम्बन्धी कानुनी प्रमाण नहुँदा लामो समयदेखि समस्या भोग्दै आएका परिवारका लागि यो प्रक्रिया महत्त्वपूर्ण मानिएको छ । यद्यपि, फाइल हस्तान्तरण हुनु र लालपुर्जा हात पर्नु फरक चरण भएकाले लाभग्राहीले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गर्न सम्बन्धित निकायको आवश्यक जाँच तथा कानुनी प्रक्रिया पूरा हुनुपर्नेछ ।
वडाध्यक्ष गुरुङले लाभग्राहीलाई जग्गाको स्वामित्व दिलाउन सम्बन्धित कार्यालयसँग समन्वय भइरहेको बताउनुभयो । उहाँले आवश्यक प्रक्रिया छिटो पूरा गराउन पहल भइरहेको जानकारी दिनुभयो ।
लाभग्राहीहरूले पनि लामो समयदेखि अल्झिएको जग्गासम्बन्धी समस्या समाधानका लागि प्रशासनिक प्रक्रिया शीघ्र टुंग्याई लालपुर्जा वितरण सुनिश्चित गर्न माग गरेका छन् ।


