रौतहट : ओम प्रकाश यादव/ नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले एक कार्यक्रमवीच जिल्ला प्रहरी कार्यालय रौतहटको नवनिर्मित भवनको उद्घाटन गरेका छन्।
जिल्ला प्रहरी कार्यालय गौर परिसरमा आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक (आइजीपी) कुँवरले सोमबार उनले भवनको उद्घाटन गरेका हुन्। जिल्ला प्रहरी कार्यालय रौतहटको सुविधा सम्पन्न एवं अत्याधुनिक डिजाइनमा नवनिर्मित भवन सहित अन्य भौतिक संरचनाहरुको उनले उद्घाटन गरेका हुन्।
प्रहरी महानिरीक्षक कुँवरले कार्यालय भवनसहित कार्यालय प्रमुख निवास,प्रहरी ब्यारेक,हिरासत भवन,सिनियर प्रहरी आवास,भान्सा घर,होजियारी,शैलुन, चमेनागृह, स्वागत तथा नागरिक सहायता कक्षको उनले उद्घाटन गरेका हुन्।
ति नवनिर्मित भवनहरूको उनले निरीक्षण समेत गरेका थिए । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा संलग्न निर्माण व्यवसायीहरूलाई कदरपत्र तथा भवन निर्माणमा योगदान पु¥याउने प्रहरी कर्मचारीहरूलाई पुरस्कार समेत प्रदान गरेका थिए।
उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी सङ्गठनलाई मजबुत र सक्षम बनाउन प्रहरी प्रधान कार्यालय प्रतिबद्ध रहेको जनाए। उनले आवास तथा भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नेदेखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगद्वारा सङ्गठनलाई संस्थागत रूपमा मजबुत र सक्षम बनाउने उनले जनाए।
आधुनिक भवनहरूसँगै प्रहरीको सेवाप्रतिको इमानदारिता,जिम्मेवारी बोध,प्रहरी आचरण र व्यवहारले प्रहरीप्रतिको जनविश्वास अभिवृद्धि गर्ने उनले विश्वास व्यक्त गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एवं प्रहरी उपरीक्षक दिलीप घिमिरेले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए ।
घिमिरेले यस कार्यालयको जिम्मेवारी सम्हालेदेखी जिल्लामा चोरी,तस्करी तथा अपराधीक क्रियाकलापमा व्यापक कमी आएको जनाएका थिए।
अपराध नियन्त्रण गरी आम जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी रौतहट प्रहरीले काम गरिरहेको प्रहरी उपरीक्षक घिमिरेले बताए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक (डिआईजी) लालमनी आचार्यले धन्यवाद ज्ञापन गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयको भवन तथा अन्य भवनहरु पहिलो र दोश्रो चरणमा गरी दुई पटकमा २ विघा ११ कठा १२ धुर जग्गामा निर्माण भएको हो ।
कुल १६ करोड भन्दा बढीको लागतमा उक्त भवनहरु निर्माण भएको हो। कार्यक्रममा मधेश प्रदेशका विभिन्न जिल्लाका प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षक सहित रौतहटका विभिन्न प्रहरी यूनिटका प्रमुखहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा गौर नगरपालिकाका नगर प्रमुख,जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू,जिल्लास्थित राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधिहरू,स्थानीय जनप्रतिनिधिहरू,विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू,स्थानीय समाजसेवी,भद्र भलादमी,सञ्चारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

