डुमरवाना साना किसानले स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनायो

रञ्जन यादव
289 पाठक संख्या

जीतपुर : बाराको डुमरबाना स्थित साना किसान कृषि सहकारी संस्थाले २९ औं स्थापना दिवसको अवसरमा विविध कार्यक्रमहरु आयोजना गरेको छ ।

संस्थालेैं स्थापना दिवसका अवसरमा डुमरवाना सेवा केन्द्र मार्फत श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको दृष्टिविहिन विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण,सिमरा सेवा केन्द्र मार्फत अपाङ्ग सेवा संघ बारालाई खाद्यान्न सामग्री वितरण,कतर्वा सेवा केन्द्र मार्फत सखुवाघाट स्वास्थ्य चौकीलाई विद्युतीय उपकरण हस्तान्तरण,निजगढ सेवा केन्द्र मार्फत मानव कल्याण समाजलाई खाद्यान्न सामग्री वितरण तथा कोल्हवी सेवा केन्द्र मार्फत श्री आधारभुत विद्यालय फतुवा विजयपुर ९ खैरामा विद्युतीय उपकरण हस्तान्तरण गरेको थियो ।

सोमबार संस्थाको एकिकृत कृषि सेवा केन्द्रमा आयोजित स्थापना दिवस समापन कार्यक्रमपछि संस्थामा आवद्ध शेयर सदस्यहरुका प्रतिनिधिका रुपमा प्रत्येक अन्तरसमुहका अध्यक्षलाई वितीय साक्षरता सम्बन्धी प्रशिक्षण प्रदान गरिएको संस्थाका मुख्य प्रवन्धक प्रकाश रिमालले जानकारी दिए ।

स्थापना दिवसका अवसरमा पाँचवटै सेवा केन्द्रको सामाजिक उतरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमको आयोजना गरेको संस्थाले सोमबार स्थापना दिवस समापन तथा सहकारी तालिमको आयोजना गरेको थियो ।

बारा क्षेत्र नं. ३ की प्रतिनिधि सभा सदस्य एवं पूर्व कृषि मन्त्री ज्वालाकुमारी साहको प्रमूख आतिथ्यतामा सम्पन्न स्थापना दिवस समापन समारोहमा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी,जीतपुरसिमरा १५ का वडाध्यक्ष रामप्रसाद लामिछाने लगायतले सहकारीले स्थानीय अर्थतन्त्र चलायमान बनाउन खेलेको भूमिकाको चर्चा गरेका थिए ।

संस्थाका अध्यक्ष प्रदिपसिंह बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्था तथा सहकारीका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

Leave a review