हरैया : बाराको करैयामाई गाउँपालिका वडा नम्बर १ मधुवनमा रहेको हरैया स्वास्थ्य चौकीमा अहिले स्वास्थ्यकर्मीहरुको अभाव हुदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भईरहेको सेवाग्रहीहरुले गुनासो गरेका छन ।
स्वास्थ्य चौकीको कार्यक्षेत्र धेरै गाउँहरु भएकाले सेवाग्रहीहरुको दिनप्रतिदिन चाँप बढ्दै छ । थप दरबन्दी हुनुपर्ने भएपनि भएको दरबन्दी अनुसार स्वास्थ्यर्मीहरु नहुदा स्वास्थ्य सेवा प्रवाहमा समस्या आईरहेको स्थानीय सेवाग्रही मेनेजर यादवले गुनासो गरेका छन ।
स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीहरु नियमित नहुदा कहिलेकाही कार्यालय सहयोगी भरमा पनि स्वास्थ्य चौकी संचालन भईरहेको यादवले बताए । स्वास्थ्य चौकीमा हेल्थ असिसटेन ईन्जार्ज १ जना, अहेब २ जना,अनमी २ जना गरी ६ जनाको दरबन्दी भएपनि अहिले १ जना सिनियर अहेब सहित २ जनाको भरमा स्वास्थ्य चौकी संचालन भईरहेको छ।
ईन्चार्ज रहेका हेल्थ असिस्टेन अमरेन्द्र कुमार गुप्तालाई गाँउपालिकाले पालिकामा स्वास्थ्य शाखामा तानेपछि अहिले सिनियर अहेब दिपेन्द्र प्रसाद चौधरी ईन्जार्च छन। भएका मध्ये एक जनाको सरुवा भएर गएको र अर्का एकजना अध्ययन विदामा गएपछि स्वास्थ्य चौकीमा कर्मचारी अभाव भएको हो।
दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुदा स्वास्थ्य सेवा प्रवाहमा समस्या आएको ईन्चार्ज दिपेन्द्र प्रसाद चौधरीले बताएका छन । ईन्चार्ज चौधरीकै भनाई अनुसार गाँउघर क्लिनिक,खोप क्लिनिक र राष्ट्रिय खोप कार्यक्रमहरु संचालन गर्न दुवै जना फिल्डमा जादा स्वास्थ्य चौकीमा सेवा प्रवाहमा कठिनाई हुने बताएका छन ।
पालिकाको प्रमुख स्वास्थ्य चौकीको रुपमा रहेको हरैया स्वास्थ्य चौकीमा करैयामाई गाउँपालिका मात्र नभई,जितपुरसिमराको १७ नम्बर वडा र कोल्हवी नगरपालिकाको ८ नम्बर वडाका मानिसहरु पनि यसै स्वास्थ्य चौकीमा सेवाका लागि आउने गरेका छन ।
तर पछिल्लो समय स्वास्थ्यकर्मीको अभावकाले स्वास्थ्य चौकीमा गर्भवति चेकजाँच,बर्थिंग सेन्टर जस्ता सेवाहरु संचालन नहुदा स्वास्थ्य चौकीको सेवा खस्कदै गएको स्थानीयहरुको गुनासो छ ।
यसै सन्र्दभमा करैयामाई गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र महतोंसंग प्रतिकृया लिदा समस्या वारे स्वीकार गर्दै समाधानका लागि पहल भईरहेको बताएका छन । उनले अन्य स्थानबाट नै भएपनि तत्कालै एकजना अनमी पठाउन स्वास्थ्य शाखालाई पत्र लेख्न निर्देशन दिएको जानकारी गराए ।
गाउँपालिकाले विभिन्न स्वास्थ्य सेवामा करार भर्ना गर्न सूचना जारी गरेर नियुक्त प्रकृया गरेको तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछी नियुक्ति प्रक्रिया रोकिएको बताएका छन । अख्तियारबाट किनारा लागेपछि समस्या समाधान हुने अधिकृत महतोले जनाए ।

