व्यवसायिक सोचलाई उद्यममा बदल्न युवालाई तालिम, उत्कृष्ट तीनलाई अनुदान

रञ्जन यादव
71 पाठक संख्या

वीरगञ्ज । युवालाई रोजगारी खोज्नेभन्दा रोजगारी सिर्जना गर्न सक्ने जनशक्तिका रूपमा विकास गर्ने लक्ष्यसहित वीरगञ्जमा उद्यमशीलता विकाससम्बन्धी तालिम सञ्चालन गरिएको छ। तालिममा सहभागी युवाले तयार पारेका व्यावसायिक योजनामध्ये उत्कृष्ट तीनवटा छनोट गरी अनुदान उपलब्ध गराइने भएको छ।

‘उद्यमशाला परियोजना (युथ एक्सेलेरेसन प्रोग्राम)’ अन्तर्गत मङ्सिर ११ गतेदेखि सुरु भएको तीनदिने तालिममा मधेस प्रदेशका बारा, पर्सा, रौतहट र सर्लाहीका युवा सहभागी छन्। मङ्सिर १३ गतेसम्म सञ्चालन हुने कार्यक्रम द कोका–कोला फाउन्डेसनको आर्थिक सहयोग, क्रिएसनको नेतृत्वदायी साझेदारी तथा कार्ड नेपालको स्थानीय आयोजनामा भइरहेको हो।

तालिमका क्रममा सहभागीलाई व्यवसाय सुरु गर्न आवश्यक आधारभूत ज्ञानदेखि बजारको अवस्था पहिचान, लगानी तथा वित्तीय व्यवस्थापन, व्यावसायिक योजना निर्माण र उद्यम विस्तारका उपायबारे व्यावहारिक प्रशिक्षण दिइएको छ। युवाले आफ्ना व्यावसायिक अवधारणालाई योजनाबद्ध रूपमा अघि बढाउन सकून् भन्ने उद्देश्यले प्रशिक्षणलाई व्यवहारमुखी बनाइएको आयोजकले जनाएको छ।

कार्ड नेपालकी अध्यक्ष अन्जु कुमारी यादवले युवाको सीप र क्षमतालाई उत्पादनमूलक क्षेत्रमा जोड्दै उद्यमशीलतामार्फत आर्थिक रूपमा सक्षम समुदाय निर्माण गर्ने लक्ष्य रहेको बताइन्। उनका अनुसार युवालाई आफ्नै व्यवसाय सञ्चालन गर्न प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो।

तालिम सकिएपछि मङ्सिर १४ गते सहभागीले तयार पारेका व्यवसायिक योजनाको प्रस्तुतीकरण गर्ने कार्यक्रम तय गरिएको छ। पिचिङ सेसनमा सहभागीले आफ्नो व्यावसायिक अवधारणा, सम्भावित बजार, सञ्चालन योजना र भविष्यमा व्यवसाय विस्तार गर्न सकिने आधारबारे निर्णायक मण्डलसमक्ष प्रस्तुति दिनेछन्।

प्रस्तुतीकरण र मूल्याङ्कनका आधारमा उत्कृष्ट तीन व्यावसायिक अवधारणा वा व्यवसाय छनोट गरी अनुदान प्रदान गरिने क्रिएसनकी वरिष्ठ कार्यक्रम अधिकृत आसिना बरालले जानकारी दिइन्। कार्यक्रमबाट युवामा स्वरोजगारप्रतिको आकर्षण बढ्नुका साथै नयाँ व्यवसाय स्थापना, स्थानीयस्तरमै रोजगारी सिर्जना र आर्थिक आत्मनिर्भरता प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Leave a review