रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम बर्दिबासमा सम्पन्न

संदिप प्रसाद यादव
436 पाठक संख्या

कलैया । नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले महोत्तरीको बर्दिबासमा आयोजना गरेको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

बर्दिबासमा रहेको श्री मध्य पुर्वी पृतना हेडक्वाटरको सहकार्यमा गरिएको पाँच दिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा मध्य पुर्वी पृतना अन्तर्गत पर्ने ११ जिल्लाका २७ जना संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

नेपाली सेना र सञ्चार जगतबीचको आपसी समझदारीलाई अभिवृद्धि गर्ने तथा आपसी पेशागत सम्बन्धलाई सकारात्मक एवं प्रभावकारी बनाउने उद्देश्यले सो अभिमुखीकरण कार्यक्रम भएको हो।

सोही कार्यक्रममा विगत १० वर्षदेखि अविछिन्न रुपमा नेपाली सैनिक रेडियो कार्यक्रम नि.शुल्क प्रसारण गरि नागरिक– सैनिक सम्बन्ध सुदृढ गराउन तथा आम नागरिकलाई सैनिक गतिविधिबारे सुसूचित गराई नेपाली सेनाको छवि प्रवद्र्धन गर्न पुर्‍याउने रेडियो शैलुङ सामुदायिक एफ.एम ९२.७ मेगाहर्ज,महोत्तरीको रेडियो अपन मिथिला,सिन्धुलीको रेडियो सिद्धबाबा र रामेछापको हजुरको रेडियोलाई नगद र कदर पत्रसहित जनसम्पर्क महाशाखाका प्रमुख एवम् महासेनानी हरि बहादुर विश्वकर्माले सो अवसरमा सम्मानित गरेका थिए।

त्यस्तै श्री मध्य पुर्वी पृतना हे.क्वा बर्दिबासका निमित्त पृतनापति भुवन खत्रीले सहभागी २७ जना विभिन्न माध्यममा कार्यरत सञ्चारकर्मीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

सो कार्यक्रमलाई सम्बोधन गर्दै निमित्त पृतनापती खत्रीले सञ्चारकर्मीहरूलाई नेपाली सेना सम्बन्धी समाचार सङ्कलन तथा सम्प्रेषणमा सहजता,स्पष्टता एवं शीघ्रता हुने विश्वास लिएको बताए।

उक्त कार्यक्रममा रक्षा संवाददाताहरुलाई सेनाको सांठनिक स्वरुप, भूमिका तथा सेना अन्तर्गतका विभिन्न निकायहरुको काम,कर्तव्य र जिम्मेवारीको बारेमा प्रस्तुतिकरण तथा अन्तरक्रिया गरिएको थियो ।

सो अभिमुखीकरण कार्यक्रमको सहजीकरण जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्ङी अड्डाका सेनानी सबिन विक्रम कुवरले गरेका थिए।

Leave a review

This will close in 0 seconds