प्रेस सेन्टर नेपालले प्रजिअलाई बुझायो ज्ञापनपत्र

साझेदारी दैनिक
443 पाठक संख्या

कलैया : प्रेस सेन्टर नेपाल,जिल्ला समन्वय समिति बाराले बाराका प्रमुख जिल्ला अधिकारी बासन्त अधिकारीमार्फत एक ज्ञापनपत्र बुझाएको छ।

३२ औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा उक्त ज्ञापनपत्र बुझाएको हो। पत्रकार सुरक्षासम्बन्धी गम्भीर चासो व्यक्त गर्दै प्रेस सेन्टर नेपालले आईतबार ज्ञापनपत्र बुझाएको हो ।

सेन्टरको हालै सम्पन्न पाँचौं राष्ट्रिय महाधिवेशनबाट जागरण अभियान सुरु गरेसंगै नेपालले पत्रकारहरूमाथि भएका हत्या,आक्रमण,दुव्र्यवहार तथा प्रेस स्वतन्त्रताको हननप्रति चिन्ता व्यक्त गर्दै तत्कालीन समस्याहरू समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती बाराका अध्यक्ष रञ्जन यादबद्धारा जारी ज्ञापन पत्रमा उल्लेख छ ।

सो अवसरलाई स्मरण गर्दै संस्थाले नेपालमा पत्रकारिता अभ्यास अझै पनि जोखिमपूर्ण अवस्थामा रहेको उल्लेख गरेको छ । पत्रकार सुरेश रजक सहित विगतमा मारिएका पत्रकारहरूको घटनालाई लिएर अहिलेसम्म दोषीमाथि कारबाही नहुनु प्रेस स्वतन्त्रतामाथिको ठुलो चुनौती भएको संस्थाको भनाइ छ ।

ज्ञापनपत्रमा संविधान प्रदत्त प्रेस स्वतन्त्रताको रक्षा, पत्रकार सुरक्षा तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि प्रभावकारी कानुन निर्माणको प्रक्रिया तत्काल अघि बढाउन सरकारलाई आग्रह गरिएको छ ।

साथै,श्रमजीवी पत्रकार ऐन, २०५२ को पूर्ण कार्यान्वयन,न्यूनतम पारिश्रमिक तोकिएको आधारमा पत्रकारलाई तलब सुविधा सुनिश्चित गर्न,विज्ञापन वितरण प्रणालीमा पारदर्शिता ल्याउन, सञ्चारमाध्यमहरूलाई राज्यको बजेटअनुसार सन्तुलित रूपमा विज्ञापन उपलब्ध गराउनुपर्ने माग पनि उठाइएको छ।

सो अवसरमा बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले ज्ञापनपत्र बुझ्दै प्रेस सेन्टर नेपालले पत्रकारहरुको बर्तमान अवस्था र भोगिरहेको समस्या उजागर गरेको बताए ।पत्रकारहरु घर घरमा सुचना पुरयाएर नागरिकलाई सु सुचित हुने अधिकारको रक्षा गरेका कारण पत्रकारमाथि हुने कुनै किसीमको आक्रमण तथा बाधा सहय नहुने बताए ।

ज्ञापन पत्र बुझाउँने कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य रामबाबु मेहता,नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष पन्नालाल दास,बरिष्ठ पत्रकार गम्भिरा सहनी,प्रेस सेन्टर नेपालका प्रदेश सदस्य महेन्द्र सहनी लगायत प्रेस सेन्टर नेपालका पदाधिकारीहरुको उपस्थिति रहेका थियो ।

Leave a review