वनमा साल प्रजातिका रुखहरु पुनः उत्पादन गर्न बाराको गढीमाई साझेदारी वनमा झाडी सफाइ भईरहेको छ ।
करिब ३४ हेक्टर क्षेत्रफलमा सरसफाई भईरहेको डिभिजन वन कार्यालय बाराका सहायक वन अधिकृत ललन राउतले जानकारी दिए ।
गढीमाई साझेदारी वन करिब एक हजार हेक्टरमा फैलिएको छ । सो साझेदारी वनलाई ८३ वटा प्लटमा छुट्याएर पशु चौपायाको चरिचरन रोक्न घेरबार समेत गरिएको छ ।झाडी सफाइ गर्नुपूर्व वन क्षेत्रभित्र उमेर पुगेका उत्पादन दिन नसक्ने बुढा सालका रुखहरु काटिन्छ ।
उत्पादन दिनसक्ने जवान रुखमात्रै राखिन्छ । उपभोक्ताहरुलाई काठ दाउरा बिक्री गरेबापत वन समितिका निवर्तमान अध्यक्ष गणेजी साहको कार्यकालमा साझेदारी वनको खातामा करिब दुई करोड बचत रकम थियो ।
सोही रकमबाट नयाँ आएको कार्य समितिले झाडी सफाइको काम गरेको हो ।करिब ३४ हेक्टरलाई तीन वटा प्लटमा विभाजन गरिएको छ । यहाँ दैनिक ज्यालादारीमा २४ जना मजदुरलाई खटाएर झाडी सफाइ गर्ने काम भईरहेको सहायक बन अधिकृत राउतले जानकारी दिए ।
वन समितिले झाडी सफाइमा यस वर्ष १२ लाख ८७ हजार रकम छुट्याएको छ । डिभिजन वन प्रमुख विनोद सिंह साल प्रजातिको रुख मूल्यवान भएको बताउछन् । उनले यसको संरक्षणमा चासो नदेखाए केही वर्षमा लोप भएर जाने बताउँछन् ।
मधेस प्रदेशका आठ वटा जिल्लामध्ये साल प्रजातिको जङ्गल बारा र रौतहटको केही भू भागमा सीमित छ । बारामा चार वटा साझेदारी,४१ वटा सामुदायिक, एउटा निजी वन रहेको छ । नेपाल सरकारद्वारा व्यवस्थित गरिएको वन क्षेत्र छ ।

