सवारी दुर्घटना न्यूनीकरण बारे भयो अन्तरक्रिया

Om Prakash Yadav
364 पाठक संख्या

रौतहट : जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटको समन्वय तथा अस्थाई ट्राफिक प्रहरी पोष्ट गरुडाको आयोजनामा रौतहटको गरुडामा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी
अन्तरक्रिया सम्पन्न भएको छ।

गरुडा नगरपालिका कार्यालयको सभाहलमा सरोकारवालाहरुसँग दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख एवं प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीको अध्यक्षतामा सो कार्यक्रम भएको हो।

गढीमाई नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद यादवको विशिष्ट आतिथ्यतामा सो कार्यक्रम भएको हो। कार्यक्रममा दुर्घटना हुनुको कारण र दुर्घटना न्यूनीकरणको उपाय बारेमा छलफल भएको छ।

बढ्दो सवारी दुर्घटनालाई कम गरी ट्राफिक सचेतनालाई अभिवृद्धि गर्न सरोकारवालाहरुसँग भेटघाट तथा बृहत छलफल गरिएको जानकारी अस्थाई ट्राफिक प्रहरी पोष्ट गरुडाका प्रमुख एवं प्रहरी सहायक निरीक्षक (असई) रामबली महतोले साझेदारी दैनिकलाई बताए। दुर्घटना जानेर नजानेर दुबै अवस्थामा हुन सक्ने भएकोले दुर्घटना हुन नदिन चालक स्वंयम जिम्मेवार हुन अवश्यक रहेको उनले बताए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले चालकको लापरवाहीले सवारी दुर्घटना बढेको जानकारी दिदै चालकहरु जिम्मेवार भई गाड़ी चलाउनुपर्ने जनाए। उनीहरू गैर जिम्मेवार भई लापरवाही गरी जथाभावी गाडी चलाउँदा सवारी दुर्घटना बढेको उनले बताए।

सडक, गाडीको अवस्था तथा चालक गरी यी तीन कारणले सवारी दुर्घटना हुने गरेको उनको भनाइ रहेको हो। शहर भन्दा ग्रामीण भेगका सडकहरुको अवस्था राम्रो नभएको उनले जनाए। पुराना र थोत्रा गाडी गुडाउने र मादक पदार्थ सेवन गरी चालकले गाडी चलाउने गरेकोले दुर्घटना हुनेगरेको उनले बताए।

ट्राफिक नियमको पूर्ण पालना गरी जिम्मेवार भई सवारी चलायो भने सवारी दुर्घटना कम हुनेउनले जनाए। अकालमै मृत्यु हुनबाट समेत जोगिने भएको हुँदा ट्राफिक नियमको पूर्ण पालना गर्न उनले आग्रह गरे। सावधानी अपनाएर गाडी चलाउन उनले सबैलाई आग्रह गरे।

कार्यक्रममा सहभागी गढीमाई नगर प्रमुख श्यामप्रसाद यादवले सावधानी अपनाउन आग्रह गरे। एनले लापरवाही गरी गाडी कुदाएर आफ्नै लापरवाहीले दुर्घटनामा परी मानिसहरू अकालमै ज्यान गुमाउने गरेकोमा उनले चिन्ता व्यक्त गरे।सबैले सचेत र सजग भई सावधानीका साथ गाडी चलाए भने दुर्घटना आफैं न्यूनीकरण हुने उनले जनाए। आफ्नो ज्यानको ख्याल गरी सचेत भएर सवारीसाधन चलाउन नगर प्रमुख यादवले सबैलाई आग्रह गरे। ट्राफिक नियमको पूर्ण पालना गर्न उनले आग्रह गरे। ट्राफिक संकेत थाहा नहुनेलाई सकेसम्म सवारी नचलाउन उनले सुझाव दिए।

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सल्लाहकार राजकुमार दास,जसपा नेपालका नेता एवं गरुडा नगर प्रमुख प्रत्यासी अनिलकुमार यादव लगायतका व्यक्तिहरूको दुर्घटना न्यूनीकरण बारे आ– आफ्ना धारणा राखेका थिए।कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्ति,जनप्रतिनिधि,सरकारी कर्मचारी,व्यवसायी,नागरिक समाज,सञ्चारकर्मी लगायतको उल्लेख्य सहभागिता रहेको थियो।

Leave a review