त्रिपन्न लाख बढीमा बागवानीको आँप ठेक्कामा

रासस
381 पाठक संख्या

बरहथवा (सर्लाही) : उष्ण प्रदेशिय बागवानी केन्द्र सर्लाही नवलपुरले ५३ लाख बढी मूल्यमा यस वर्षको लागि आँप बिक्री ठेक्का लगाएको छ ।

केन्द्रले लालबन्दी नगरपालिका–२ बागवानीमा उत्पादन भएको आँप बिक्रीको लागि जम्मा रु ५३ लाख ७१ हजारमा ठेक्का लगाएको हो ।

दोस्रो पटक आँप बिक्रीका लागि निकालेको सूचनाअनुसार सुरज निर्माण सेवा लालबन्दी–१,पुनर्वासले उक्त मूल्यमा ठेक्का सकारेको केन्द्रका निमित्त वरिष्ठ बागवानी विकास अधिकृत रामकुमार यादवले जानकारी दिनुभयो ।

निमित्त प्रमुख यादवका अनुसार यस वर्ष आँप गत वर्षको तुलनामा दुई गुणा बढी मूल्यमा ठेक्का लागेको हो । गत वर्ष रु २१ लाख १५ हजारमा मात्र ठेक्का लागेको थियो । ‘‘गत वर्ष अफ सिजन थियो । त्यसैले आँप निकै कम फल्यो । ठेक्का कम रकममा लागेको हो’’, निमित्त प्रमुख यादवले भन्नुभयो ।

यसवर्ष सिजन भएकाले धेरै फलेको उहाँको भनाइ छ । उत्पादन बढेकाले बागवानीले रु ७१ लाख ११ हजार १२१ बिक्री मूल्य राखेर गत वैशाख १६ गते प्रथम पटक बिक्री सूचना निकालेको थियो ।

तर १५ दिनको म्याद अवधिमा आँप ठेक्काको निवेदन नपरेको उहाँले बताउनुभयो । त्यसपछि केन्द्रले फेरि गत जेठ १ गते रु ५१ लाख ७५ हजार मूल्य राखेर दोस्रो पटक सात दिनको लागि सूचना निकालेको होे ।

ठेक्का लगाउने समयमा हावाहुरीले आँपमा क्षति गरेकाले ठेक्का मूल्य घटाउनुपरेको केन्द्रका निमित्त प्रमुख यादवको भनाइ छ । यस केन्द्रले अहिले सम्मकै धेरै आर्थिक वर्ष २०७९/८० मा रु एक करोड ११ लाखमा आँप बिक्री गरेको थियो । यहाँ करिब एक सय बिघा क्षेत्रफलमा आँपका छ हजार वटा रूख छन् ।

त्यसमध्ये वर्सेनि तीन हजार पाँच सय बढी रुखमा मात्र फल लाग्ने गरेको छ । बागवानी केन्द्रमा मालदह,दशहरी,बम्बै,आम्रपाली, मल्लिका,निलमसहित ३५ बढी जातको आँप उत्पादन हुने गरेको निमित्त केन्द्र प्रमुख यादवले बताउनुभयो ।

Leave a review

This will close in 0 seconds