बारा । पिएसआर खबरका सञ्चालक रमेश ठाकुरले आफ्नो वडाका तीन विद्यालयमा अध्ययनरत ६८४ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्।
ठाकुरले बारा जिल्लाको कलैया उपमहानगरपालिका–१४ स्थित बघवन, भौरा र लक्ष्मीनिया विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कापी, कलम र पेन्सिल वितरण गरेका हुन्।
बघवनका २३७, भौराका ३४७ र लक्ष्मीनियाका १०० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको पिएसआर खबरका सञ्चालक ठाकुरले जानकारी दिए ।
ठाकुरका अनुसार सामाजिक सञ्जालमा सञ्चालित पिएसआर खबरको फेसबुक पेजबाट प्राप्त आम्दानीबाट २० हजार रुपैयाँ विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री खरिदमा खर्च गरिएको हो।
शिक्षाको क्षेत्रमा सुधार ल्याउन तथा समाजप्रति आफ्नो तर्फबाट योगदान गर्ने उद्देश्यले सामग्री वितरण गरिएको ठाकुरले बताए।
पत्रकारितामा विगत १४ वर्षदेखि सक्रिय ठाकुर कान्तिपुर टेलिभिजनका बारा संवाददातासमेत हुन्।

