खुश्बु पाउरोटीलाई एक लाख तथा प्रेम कुल्फी एण्ड आइसक्रीम उद्योगलाई सत्तरी हजार गरियो जरिवाना

साझेदारी दैनिक
1k पाठक संख्या

कलैया । बाराको कलैयामा सञ्चालित दुई उद्योगलाई जिल्ला प्रशासन कार्यालय बाराले मापदण्ड पुरा नगरेको भन्दै सोमबार दण्ड जरिवाना गरेको छ।

कलैया उपमहानगर वडा नम्बर १८ मोतिसरमा संचालित खुश्बु पाउरोटी उद्योगलाई एक लाख रुपैयाँ जरिवाना गरिएको अनुगमन टोलीका प्रमुख तथा बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले बताए।

खुश्बु पाउरोटी उद्योगमा मापदण्ड पूरा नरहेको र पाउरोटी बनाउने कारखाना सरसफाइ नरहेको र भण्डारण अवस्था संतोषजनक नरहेको भन्दै जरिवाना गरिएको हो।

यस्तै अनुगमनको क्रममा कलैया – ६ कृषि बजारमा सञ्चालित प्रेम कुल्फी एण्ड आइसक्रीम उद्योगलाई ७० हजार रुपैयाँ दण्ड जरिवाना गरिएको हो। प्रेम कुल्फी उद्योगमा इजाजत पत्र नभएको,आइसक्रीम लेवल नभएको,कारखाना फोहोर तथा सरसफाइ नभएको र मापदण्ड पुरा नरहेको भन्दै जरिवाना गरिएको भट्टराईले जानकारी दिएका हुन्।

उक्त दुबै उद्योगलाई सात दिन भित्र सम्पूर्ण कागजात प्रमाणपत्रसहित खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालय वीरगञ्जमा उपस्थित हुने समेत निर्देशन दिइएको छ।

जिल्ला प्रशासन कार्यालयको टोलिले सोमबार छड्के अनुगमन गर्दै अनुगमन टोलीले जरिवाना गरेको हो। “ स्वच्छ र प्रतिस्पर्धाी बजार : उपभोक्ता संरक्षणको दिगो आधार“ भन्ने मूल नाराका साथ उक्त अनुगमन गरिएको हो।

त्यसैगरी कलैया उपमहानगर –६ मा दर्ता बिना संचालित लक्की कुल्फी मलाई र प्रेम कुल्फी मलाई उद्योगलाई मंगलवार जिल्ला प्रशासन कार्यालय बारामा सम्पर्क गर्न आउनलाई निर्देशन दिएको छ।

अनुगमन टोलिमा घरेलु तथा साना उधोग कार्यालय बाराका कार्यालय प्रमुख देबेन्द्र कुमार झा,गुणस्तर तथा नापतौल कार्यालय वीरगंजका निरीक्षक हरिभजन त्रिपाठी,वाणिज्य कार्यालय वीरगंजका प्रतिनिधि मधुरेश प्रसाद साह,खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगंजका प्रतिनिधि,जिल्ला प्रशासन कार्यालय बारा प्रशासन शाखाका नायब सुब्बा रत्न बहादुर स्याङतान र जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक प्रकाश खड्का,उपभोक्ता हित संरक्षणका प्रतिनिधिहरु लगायतको रहेका थियो ।

Leave a review

This will close in 0 seconds