रौतहट : उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले रौतहटको वृन्दावन नगरपालिकाको नगर अधिवेशन रोक्न परेको रिटलाई शुक्रबार खारेज गरेको छ।
उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश गोकर्ण डाँगी र नेत्र आचार्यको संयुक्त इजलासले रिट खारेज गरेको हो।
वृन्दावन नगर उप–प्रमुख संगीता देवी रामले उच्च अदालतमा नगरसभा स्थगित गर्नका लागि रिट दायर गराएकी थिइन्। उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले असार १३ गतेसम्मका लागि नगरसभा स्थगित राख्न अन्तरिम आदेश दिएको थियो।
दुवै पक्षको कुरा सुनी निर्णयमा पुग्न उचित हुने देखिएको भन्दै अदालतले उक्त मुद्दाको पेसी असार १३ गतेका लागि तोकेको थियो। अदालतले नगरसभा रोक्न नमिल्ने भन्दै दायर गरिएको रिट खारेज गरेको छ।
अदालतको आदेशपछि वृन्दावन नगरपालिकाको नगरसभा रोक्नका लागि भएको अन्तरिम आदेश बदर भएको छ। रिट खारेजपछि वृन्दावन नगरपालिकाको नगर अधिवेशन गर्ने बाटो खुल्ला भएको छ।
वृन्दावन नगर प्रमुख विनोद प्रसाद कुर्मीले गएको असार १० गते नगरसभाको आह्वान गरेका थिए। नगर अधिवेशनको मिति तोकेपछि उपमेयर रामले नगर अधिवेशन रोक्न पाउनुपर्ने भन्दै उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा रिट दायर गरेकी थिइन्।

