रौतहट : रौतहटको वृन्दावन नगरपालिकाको नगरसभा गर्ने विषयमा राजस्व परामर्श समितिको बैठक भएको छ।
राजस्व परामर्श समितिकी संयोजक वृन्दावन नगर उप–प्रमुख संगीता देवी रामको अध्यक्षतामा सो बैठक बसेको हो। राजस्व परामर्श समितिको बैठकमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याउने बारेमा गहन छलफल भएको हो।
नगरपालिका कार्यालयको अस्थायी मुकाम हर्षाहामा उपमेयर रामको कार्यकक्षमा मंगलबार अपरान्ह बैठक बसेको हो। बैठकमा नगरको बजेट अधिवेशनको तयारीको विषयमा छलफल भएको बताइएको छ।
बैठकमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेल सहित राजस्व परामर्श समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो।
असार १० गते भित्रमा नगर अधिवेशन बोलाई आगामी आर्थिक वर्षको नीति,कार्यक्रम तथा बजेट ल्याइसक्नुपर्ने प्रावधान रहेको छ। वृन्दावन नगर प्रमुख विनोद प्रसाद कुर्मीले केहीदिन अघि मात्र असार १० गते नगरसभा गर्ने सूचना निकालेका थिए। नगर उप प्रमुख संगीता देवी रामले आफूलाई बाइपास गरी एकलौटी ढंगले मेयर कुर्मीले नगरसभा गर्न लागेको भन्दै उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा रिट दायर गरेकी थिइन्।
त्यसपछि अदालतले नगरपालिका कार्यालयलाई विपक्षी बनाउँदै असार १३ गतेसम्मका लागि नगरसभा नगर्न अन्तरिम आदेश दिएको थियो। अदालतले असार १३ गते संगीता देवी रामको रिट खारेज गरेकोे थियो। आउँदो असार २६ गते नगरसभा गर्ने आन्तरिक तयारीमा जुटेको स्रोतले जनाएको छ।
राजस्व परामर्श समितिको बैठकमा आगामी आर्थिक वर्षको बजेट ल्याउनू भन्दा अघि अपनाउनुपर्ने विधि,प्रक्रिया लगाएत विषयमा छलफल भएको छ। करिब तीन घण्टा चलेको बैठकमा उपमेयर राम र प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) खिमबहादुर भुजेलबीच सकारात्मक कुराकानी भएको बताइएको छ।
केही बुँदामा छलफल भएको र बाँकी कुरा भोलि पर्सि वा अर्को कुनै दिन बैठक बसेर टुंगो लगाउने तथा असार २६ गते नगरसभा गर्न दुबैपक्ष सहमत रहेको जनाइएको छ।


