सामान्य विवादलाई अतिरञ्जित गरिएको छ : सुवर्ण गाउँपालिका अध्यक्ष यादव

साझेदारी दैनिक
381 पाठक संख्या

कलैया : बाराको सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश प्रसाद यादवले सामान्य विवादलाई अतिरञ्जित गरिएको जनाएको छन्। पत्रकार सम्मेलन मार्फत बुधबार उनले यस्तो बताएका हुन्।

केही व्यक्ति तथा सञ्चार माध्यमहरूबाट आफ्नो चरित्र हत्या गर्ने नियोजित प्रयास गरेको भन्दै पत्रकार सम्मेलनमा उनले आफ्नो भनाई राखे। कलैयामा घटेको सवारीसाधनसँग सम्बन्धित मंगलबार भएको सामान्य विवादलाई अतिरञ्जित गरेर प्रस्तुत गरिएको उनको आशय थियो। आफूप्रति सार्वजनिक रुपमा लगाइएका आरोपहरू पूर्णतः असत्य, भ्रामक र योजनाबद्ध भएको दाबी उनले पत्रकार सम्मेलनमा गरेका हुन्।

मङ्गलवार दिउँसो करिब १ः५४ बजे, कलैया–४ स्थित यामाहा शोरूम नजिक आफ्नो स्कार्पियो गाडीलाई पछाडिबाट एउटा मोटरसाइकलले ठक्कर दिएको थियो।दुर्घटनापछि गाडीबाट झर्दै गरेकोमा गंगापुर निवासी विकास साह र सोही शोरूमका कर्मचारी संजय कुशवाहाले आक्रामक शैलीमा व्यवहार गर्दै अभद्रता गर्न खोजको दावी उनको हो।

घटना लगत्तै अध्यक्ष यादवले घटनाबारे प्रहरीलाई स्वयं जानकारी गराएको दावी गरे। सार्वजनिक रूपमा फैलाइएका मदिरा सेवन तथा दुव्र्यवहारसम्बन्धी समाचारहरू कपोकल्पित र पूर्वाग्रही भएको उनले दावी गरे। घटनालाई लिएर केही सञ्चार माध्यमहरूले ‘रक्सी सेवनपछि अध्यक्षले सर्वसाधारणमाथि दुव्र्यवहार गरे’ भन्ने आशयको समाचार प्रकाशन गरेको उनको कथन छ। यसप्रति उनले गम्भीर आपत्ति जनाएका छन्।

मदिरा सेवन गर्ने आफ्नो बानी नरहेको उनले प्रष्ट पारे। पत्रकार महासंघले आफूबाट प्रतिक्रिया नलिइकन विज्ञप्ति जारी गर्नु निन्दनीय रहेको समेत जनाए। “बिना पक्ष, बिना प्रमाण र बिना संवाद नै सार्वजनिक रूपमा व्यक्ति दोषारोपण गर्नु पत्रकारिताको धर्म विपरीत रहेको उनको कथन हो। प्रेस स्वच्छन्दता र व्यावसायिक उत्तरदायित्वको सीमा छुट्याउन उनले आग्रह गरे।

केही सञ्चार संस्थाहरूले गाउँपालिकाबाट विज्ञापन वा सेवा करारको औपचारिक प्रक्रिया नपुगेको भन्दै अनौपचारिक रूपमा बिल पेश गरेको र भुक्तानी नगरेको निहुँमा आफूविरुद्ध पूर्वाग्रही ढंगले समाचार सम्प्रेषण गरिरहेको दावी समेत गरेका छन्।

Leave a review

This will close in 0 seconds