तीन महिनाका लागि मधेश प्रदेश भयो विपद्‌ सङ्कटग्रस्त क्षेत्र घोषणा

साझेदारी दैनिक
347 पाठक संख्या

काठमाण्डौ : नेपाल सरकारले मधेस प्रदेशलाई बुधबार तीन महिनाको लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशलाई तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो। कृषि मन्त्री रामनाथ अधिकारीका अनुसार मधेसको अवस्था काबुभन्दा बाहिर गएको छ। पर्याप्त वर्षा नभएपछि मधेस प्रदेशका आठै वटा जिल्ला खडेरीको चपेटामा परेको छ। अत्यधिक गर्मी बढेपछि पर्सा, बारा सहितका जिल्लामा खानेपानीको समस्या बढदै गएको छ।

मधेस प्रदेश सरकारले पर्सामा खानेपानीको हाहाकार भएपछि केही उपाय गरेको थियो। प्रदेश सरकारले दमकल र ट्याङ्करमार्फत पानी वितरणको अभियान थालेको थियो ।

मधेस सरकारले प्रदेशलाई असार २६ गते सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो। साउनको पहिलो सातासम्म मधेस प्रदेशमा ४६ प्रतिशत मात्रै धान रोपाइँ भएको छ। सबैभन्दा धेरै पर्सामा ७९.६६ प्रतिशत रोपाइँ सम्पन्न भएको मधेश प्रदेश सरकारको कृषि निर्देशनालयले जनाएको छ।

सप्तरी र महोत्तरीमा सबभन्दा कम ३० प्रतिशत धान रोपाइँ भएको छ। रौतहटमा ६५ प्रतिशत रोपाई भएको छ। बारामा ७५ प्रतिशत धान रोपाई भएको छ। सर्लाहीमा ४३ प्रतिशत रोपाई भएको छ। सिराहामा ३४ प्रतिशत, धनुषामा ३५ प्रतिशत मात्रै धान रोपाइँ भएको निर्देशनालयले जनाएको हो।

प्रदेशमा ५ लाख ४२ हजार ५ सय ८० हेक्टर खेतीयोग्य जग्गा रहेको छ। यस प्रदेशमा तीन लाख ७२ हजार ६ सय ४५ हेक्टरमा धानखेती हुँदै आएको छ । हालसम्म मात्र १ लाख ७४ हजार ५ सय ८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको निर्देशनालयले जनाएको छ। धान रोपाइँ भएको खेतमा पनि वर्षा नहुदा धाँजा फाट्ेर समस्या भएको छ।

Leave a review

This will close in 0 seconds