रौतहट : करणकुमार मिश्र/ रौतहटको राजपुरमा हैजाको प्रकोप फैलिएको छ। हैजा फैलिएपछि स्थानीयहरु प्रभावित भएका छन्।
हैजा गाउँ नै फैलिने सक्ने गम्भीर अवस्था देखिएपछि सो क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ। प्रादेशिक अस्पताल गौरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मुरारी ठाकुरको नेतृत्वमा विशेषज्ञहरूको टोली शनिवार आवश्यक औषधि र सामग्रीसहित प्रभावित क्षेत्रमा खटिएका हुन्।
टोलीमा अध्यक्ष महम्मद अनवर हाशमी, इमर्जेन्सी इन्चार्ज डा. राजेशकुमार सिंह,डा.गोपाल गुप्ता लगायतका स्वास्थ्यकर्मीहरू खटेका हुन्। राजपुर नगरपालिकाको वडा नम्वर ३ र ४ मा हैजाको लक्षण रहेको ५१ जना विरामी फेला परेका छन् ।
असोज ३ गते देखि देखापरेको झाडापाखाला जस्तो हैजाको लक्षण देखिएका विरामीहरु प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा उपचार गराउन पुगेका छन्। त्यहाँ मात्र आउनेको संख्या ५१ पुगेको राजपुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख खुर्शिद आलमले जानकारी दिएका हुन् ।
उपचार गराउन आउने मध्ये सात जनाको आरडिटी प्रविधिबाट परीक्षण गरिएको छ। जसमा छ जनामा हैजाको किटाणु फेला परेपछि कल्चर परीक्षणको लागि जनकपुर पठाइएको उनले बताए।
आइतबार सम्म उपचारको लागि ५१ जना मध्ये २० जना डिष्चार्ज भएर घर फर्किसकेका छन्। ३० जनाको उपचार जारी रहेको स्वास्थ्य शाखा प्रमुख आलमले जानकारी दिए ।
विरामी परेकाहरु सबै हैण्डपाइप र खानेपानी सपलाई ट्याँकीको पानीको प्रयोग गर्दै आएका छन्। खोला,जरुवा,कुवा आदीको पानी खाएमा हैजाको प्रकोप लाग्ने गरेको भएपनि चापाकल (हैण्ड पाइप) र ट्याँकीको पानी खाँदा हैजा लाग्नु अनुसन्धानको बिषय बनेको छ।
राजपुरमा हैजाको संक्रमण फैलिन थालेपछि मधेश प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय समेत सक्रिय भएको छ। मन्त्रालयका सचिव संजयकुमार ठाकुर सहितको विशेषज्ञहरुको टोली आएर स्थलगत रुपमा अनुगमन गरेको छ।
हैजा जस्तो लक्षण भएका महामारीलाई नियन्त्रण गर्न मन्त्रालयबाट यथोचित रुपमा चिकित्सकहरुको टोली सहित औषधी पठाइने छ। यही विरामीहरुको परीक्षण गरिने उनले प्रतिबद्धता जनाएको राजपुर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत खुर्शेद आलमले बताए ।
स्वास्थ्य अधिकारीहरूका अनुसार,झाडा पखाला र हैजा नियन्त्रणका लागि सावधानी अपनाउनु अत्यावश्यक छ। डा. मुरारी ठाकुरले स्वस्थ्य रहन खाना खानुअघि र दिशा गरेपछि राम्ररी हात धुन उनले सल्लाह दिएका छन ।
उनले तातो पानीको प्रयोग गर्न उनले भने। बासी,सडेगलेको वा खुला राखिएको खानेकुरा नखान र पेट बिगार्ने खाना खानबाट जोगिन सल्लाह दिए ।

