घुस आरोपबारे छानबिन प्रतिवेदन निजगढमा सार्वजनिक, भेटिएन प्रमाण

संदिप प्रसाद यादव
276 पाठक संख्या

उमेश घलन :निजगढ / निजगढमा गठित छानविन समितिले तयार पारेको प्रतिवेदन सोमबार सार्वजनिक गरिएको छ। नगरपालिकामा सम्पन्न योजनाको रकम भुक्तानीका क्रममा कर्मचारीहरूले ठेकेदारसँग घुस लिएको आरोपबारे छानबिन गर्न गठित समितिले सो प्रतिवेदन सार्वजनिक गरेको हो। निजगढ नगरपालिकाको कार्यालय सभाहलमा आयोजित कार्यक्रममा सो प्रतिवेदन सार्वजनिक गरिएको हो।

छानबिनका क्रममा कर्मचारीहरूले घुस लिएको भन्ने आरोप पुष्टि हुने कुनै ठोस सबुत प्रमाण फेला नपरेको समितिले प्रतिवेदनमा जनाएको छ। नगरकार्यपालिका सदस्य सुनारले सामाजिक सञ्जालमा दाबी गरे अनुसार कुनै प्रमाण फेला नपरेको जनाइएको हो। प्रतिवेदनमा बिना प्रमाण व्यक्तिको सार्वजनिक जीवनमा आँच पुग्ने गरी सामग्री सार्वजनिक गर्नु मुलुकी अपराध संहिता तथा विद्युतीय कारोबार ऐनविपरीत रहेको प्रतिवेदनमा उल्लेख छ। यस्ता कार्यमा कानुनी कारबाही हुन सक्ने चेतावनी समेत दिइएको छ।

योजना शाखा प्रमुख जीवन गौतमले वाचन गरेर सुनाएको प्रतिवेदनमा कार्यपालिका सदस्य सुनारले आफूसँग रहेको भनिएको अडियो सामग्री समितिलाई उपलब्ध गराउन इन्कार गरेको जनाइएको छ। छानबिन प्रक्रियामा असहयोग गरेको उल्लेख गरिएको छ।

निजगढ नगरकार्यपालिकाको आइतबार बसेको बैठकले छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो। यसअघि नगरकार्यपालिका सदस्य विश्वकर्माले नगरपालिकाबाट सम्पन्न योजनाको रकम भुक्तानीका क्रममा केही कर्मचारीहरूले ठेकेदारसँग रकम माग गरेको टिप्पणी फेसबुकमा लेखेका थिए। यसपछि पुस ३० गते बसेको नगरकार्यपालिका बैठकले चार जना कार्यपालिका सदस्यसहित पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिले १५ दिन लगाएर तयार पारेको प्रतिवेदन आइतबार नै नगरकार्यपालिका बैठकमा पेस गरिएको जनाइएको छ।

Leave a review