डिभिजन बन कार्यालय बारामा १३ वटा मुद्दा दर्ता ,३ वटा पिकअप नियन्त्रणमा

रञ्जन यादव
249 पाठक संख्या

जीतपुर : आर्थिक वर्ष २०८१/०८२ मा डिभिजन बन कार्यालय बारा सिमराले बन पैदावारको हानि–नोक्सानी तथा अवैध ओसारपसार सम्बन्धी ११ वटा मुद्दा दर्ता भएका छन्।

ती मुद्दामा गोलिया १३६.११ क्युबिक फिट र अन्य ९.९९ क्युबिक फिट बन पैदावार जफत गरिएको छ। साथै, ७७.४३ क्युफिट चिरान काठ र अन्य २०.६ क्युफिट चिरान सामग्री पनि बरामद गरिएको कार्यालयले जनाएको छ। अवैध बन पैदावार ओसारपसारमा प्रयोग गरिएका १२ वटा साइकिल र १ वटा पिकअप समेत जफत गरिएको छ।

यसबाहेक, बन क्षेत्रबाट अवैध रुपमा उत्खनन गरिएको बालुवा, ढुंगा, ग्रावेल र माटोसँग सम्बन्धित दुई वटा छुट्टाछुट्टै मुद्दा पनि दर्ता भएका छन्। यस वर्षका मुद्दाहरूमा २ जना प्रतिवादी फरार रहेका छन्।

यसैबीच, बारा जिल्ला अदालतले हालसम्म बन अतिक्रमणसम्बन्धी ५ वटा, अवैध ओसारपसार तथा हानि नोक्सानीसम्बन्धी ११ वटा, र तारवार फुटाई रड बिक्री वितरणका लागि गरिएको हानी नोक्सानीसम्बन्धी १ वटा गरी कुल १७ वटा मुद्दा दर्ता गरेको छ। ती मुद्दाहरूमा १६ जना प्रतिवादी रहेका छन्।त्यस्तै, विभिन्न सब डिभिजनमा बरामद गरिएका बेवारिसे काठको परिमाण उल्लेखनीय रहेको छ।

मधुवन सब डिभिजनमा ५१३७.२४ क्युबिक फिट, हल्खोरिया सब डिभिजनमा ४३९४.४८ क्युबिक फिट, तामागढीमा १०३४ क्युबिक फिट, र कोल्हवीमा १२१०.०६ क्युबिक फिट गरी कुल ११७७५.७५ क्युबिक फिट काठ बरामद गरिएको छ ।

डिभिजन बन कार्यालय बाराका प्रमुख डिभिजनल बन अधिकृत राजीव कुमार झाले सार्वजनिक गर्नुभएको विवरणअनुसार, बन क्षेत्रको संरक्षण तथा नियमनमा सक्रियता बढाइएको छ भने अवैध गतिविधिमाथि कारबाही कडाईका साथ अघि बढेको देखिएको छ ।

डिभिजनल बन अधिकृत झाले अलि फरक तरिकाले बन गस्ती बढाएको र कर्मचारीको सङ्ख्या पनि पहिलाको तुलनामा बढेको कारण बन संरक्षण तथा चोरी निकासी नियन्त्रणमा सहज भएको बताए ।

Leave a review

This will close in 0 seconds