काठमाण्डौं । धुनषास्थित नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिको कार्यालय भवन निर्माणस्थल जनकपुरधाम उपमहानगरपालिका, श्रीराम मन्दिर गुठीको जग्गा कब्जा गर्न गरिएको हर्कतप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ।
महासंघका केन्द्रिय समितिका महासचिव रामप्रसाद दाहालले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी ध्यानाकर्षण भएको जनाएका हुन्।
उक्त जग्गा महासंघ प्रदेश समितिले २० वर्षका लागि लिजमा लिएको विज्ञप्तिमा दाहालले लेखेका छन्। नेपाल बार एशोसिएसन धनुषाले आफ्नो हक लाग्ने भन्दै जग्गा कब्जाको प्रयास गर्न खोज्नु शोभनीय विषय होइन उनले विज्ञप्तिमा लेखेका छन्।
प्रदेश समितिले जग्गा संरक्षण गर्न तारले घेराबार गरिरहेका बेला साउन २७ गते बारका जिल्ला अध्यक्ष विमल मिश्र नेतृत्वको एक समूहले महासंघ प्रदेश अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष ज्योती झा, महासचिव शैलेन्द्र क्रान्ति, पत्रकार दिवाकर साह, विनिता यादव लगायतलाई आक्रमण समेत गरेको घटनाको महासंघ निन्दा र भत्र्सना गर्दछ विज्ञप्तिमा लेखिएको छ।

कुटपिटबाट मधेश प्रदेशका महासचिव क्रान्तिको खुट्टा भाँच्चिएको छ। पत्रकार साहको टाउकोमा गम्भीर चोट लागेको छ ।
महासंघ घाईते पत्रकारको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ विज्ञप्तिमा दाहालले लेखेका छन्। “अदालत हाम्रो गोजीमा छ, हामी जे भन्छौ त्यही हुन्छ” भन्दै पत्रकारमाथि भएको आक्रमण प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप हो विज्ञप्तिमा भनिएको छ।
अतः पत्रकारमाथि आक्रमणमा संलग्नहरुलाई तत्काल कानुनी कारबाही, घाइते पत्रकारको उपचार र भविष्यमा यस प्रकारको घटना दोहोरिन नदिने प्रबन्ध मिलाउन महासंघले सम्बद्ध निकायसंग जोडदार माग गरेको छ।


