Sajhedari Daily
Latest News from Nepal

बारा प्रहरीद्धारा स्रोत नखुलेको २५ लाख ३५ हजार सहित दुई भारतीय पक्राउ

बारा प्रहरीले स्रोत नखुलेको रकम सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले स्रोत नखुलेको २५ लाख ३५ हजार रकम सहित दुई जना भारतीय नागरिक पक्राउ परेका थिए।

मोटरसाइकल चालक भारत बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया वडा नं.७ टोल नरकटिया बस्ने सुरेश प्रसादको छोरा वर्ष ३५ को चंद्र शेखर प्रसाद रहेका छन् तथा मोटरसाइकलमा पछाडी सवार सोही स्थानमा बस्ने पारसनाथ प्रसादको छोरा वर्ष ३८ को संजय कुमार रहेको जिल्ला प्रहरी कार्यालय बाराले विहिवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

प्रहरीले बुधवार मध्यान्हको समयमा जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर ८ बरेवा टोल स्थित कलैया–मटिअर्वा सडक खण्डबाट चेकजाँचको क्रममा भारतीय मोटरसाईकलमा सवार ती दुईलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी गस्ती टोलीले विआर–०५–के–०७९८ नम्बरको भारतीय मोटरसाइकल माथी शंकालागी चेकजाँच गर्दा उनिहरुलाई पक्राग गरिएको हो । प्रहरीले उनिहरुको साथबाट शरीर तथा मोटरसाइकलको डिक्की समेतमा लुकाई छिपाई राखेको अवस्थामा नेपाली रू.एक हजार दरको १७७२ थान सत्र लाख ७२ हजार र नेपाली रू ५०० दरको १५२६ थान (७ लाख ६३ हजार ) गरी जम्मा नेपाली रूपैया रू.२५ लाख ३५ हजार फेला परेको थियो।

सो रकम फेला पारी उक्त रकम सम्बन्धमा सोधपुछ गर्दा निजहरूले स्रोत नखुलाएको हुँदा रकम तथा रकम ओसारपसार गर्न प्रयोग गरेको उल्लेखित मोटरसाइकिल सहित निजहरुलाई पक्राउ गरी प्रहरी कार्यालय बारामा राखेर थप अनुसन्धान कार्य भइरहेको प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले जानकारी गराएका छन ।

Comments are closed.