भीमसेन जात्रा वीरगञ्जमा शान्तिपूर्ण रूपमा सम्पन्न

साझेदारी दैनिक
273 पाठक संख्या

वीरगञ्ज : भीमसेन जात्रा वीरगञ्जमा आइतबार राति शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। जात्राको क्रममा कुनै अप्रिय घटना नभएको र शान्तिपूर्ण रूपमा सम्पन्न भएको

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले साझेदारी दैनिकलाई जानकारी दिए ।

जात्राको क्रममा बिर्ता र गहवाका युवा समूहबिच हुने सम्भावित झडपलाईदृष्टिगत गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको लम्सालले बताए। डिएसपी सुभाष भट्टको कमान्डमा करिब २५० नेपाल प्रहरी र ५० सशस्त्र प्रहरी खटेका थिए। सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टरका गणपति प्रहरी उपरीक्षक पूरण चन्द्र भट्ट पनि जात्रामा सहभागी रहेका हुन्।

केही वर्षयता वीरगञ्जको भीमसेन जात्रा शान्तिपूर्ण रूपमा सम्पन्न हुँदै आएको छ। परम्परागत रूपमा, भीमसेन जात्रा प्रत्येक वर्ष बिर्तामाई मन्दिरबाट डोला (पालकी) सहित सुरु हुन्छ । जात्रा मुख्य सडक हुँदै गहवामाई मन्दिरसम्म पुग्छ र नगर परिक्रमा गरेर पुनः बिर्तामाई मन्दिरमा फर्किएर सम्पन्न हुन्छ। जात्रामा नेवार समुदायसहित गैर–नेवार समुदायको पनि उल्लेख्य सहभागिता रहने गरेको छ।

नेवार समुदायले भीमसेनलाई कुलदेवताको रूपमा पुज्ने र जात्रा निकाल्दा आर्थिक समृद्धि, वैभव, सुस्वास्थ्य र आरोग्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ। वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले भीमसेन जात्रालाई वीरगञ्जको इतिहास र संस्कृतिसँग जोडिएको महत्वपूर्ण पर्व भएको बताए।

मेयर सिंहले महानगरले जात्राको संरक्षण र प्रवद्र्धनका लागि हर सम्भव प्रयास गरिरहेको र यसलाई पर्यटकीय आकर्षणको रूपमा विकास गर्ने योजना रहेको जानकारी दिए।

Leave a review