कलैया : सिमा नाकामा सिसिटिभी र चेकपोष्टमार्फत कडा निगरानी गरिने जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाको आयोजनामा सोमबार कलैया उपमहानगरपालिका–१० मा सीमा सहजीकरण बैठकमा उनले यस्तो बताएका हुन् ।
प्रजिअ अधिकारीले सीमा सुरक्षालाई संवेदनशील विषय ठहर गर्दै सबै निकायले आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नुपर्ने बताए ।
उनले भने, “सीमा नाकामा हुने अवैध क्रियाकलाप रोक्न सिसिटिभी जडान, चेकपोष्ट स्थापना र भन्सारको निगरानीलाई प्रभावकारी बनाइन्छ । स्थानीयको सुझावलाई पनि कार्यान्वयनमा ल्याएर सुरक्षालाई थप मजबुत बनाइने बताए ।
यसैबीच बैठकले सडक मर्मत, सरसफाइ, पार्किङ व्यवस्थापन, वृक्षारोपण तथा संदेशमूलक सूचना राख्ने जस्ता निर्णय पनि गरेको छ । यी विषयमा नगरप्रमुख विनोद साहले नगरपालिकाले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए ।
उनले भने, “सडक, सरसफाइ, पार्किङ र हरियाली अभियान जस्ता कामलाई नगरपालिकाले प्राथमिकतामा राख्छ । सशस्त्र प्रहरीसँगको सहकार्यमा पक्की ब्यारियर र सूचना पाटी निर्माणमा पनि उपमहानगरपालिकाले सहयोग गर्नेछ ।
सीमामा देखिएका समस्या समाधानका लागि बैठकले चेकजाँचलाई व्यवस्थित गर्न सशस्त्र प्रहरीले स्थायी पोस्ट स्थापना गर्ने, सवारीसाधन नियमन गर्ने, भन्सारको नियमित अनुगमन गर्ने र छड्के निरीक्षणलाई कडाइ गर्ने निर्णय गरेको छ ।
वडाध्यक्ष साबिर मियाको अध्यक्षतामा बसेको बैठकमा सीमा सुरक्षासम्बन्धी चुनौती, नाकाको व्यवस्थापन र समग्र पूर्वाधार विकासबारे सरोकारवालासँग राय–सुझाव संकलन गरिएको थियो ।
यसैगरी अवाञ्छित गतिविधि नियन्त्रणका लागि सिसिटिभी जडान र पक्की ब्यारियर निर्माण हुने भएको सशस्त्र प्रहरी बल नेपाल १२ न गणका गणपति प्रहरी उपरीक्षक खुमबहादुर केसीले बताए ।
”बैठकमा सहभागी स्थानिय रामाअयोध्या प्रसाद गुप्ताले सिमानाकाको छेउमा रहेका मदिरा पसल टाढा सार्न सुझाव दिएका थिए । उनका अनुसार सिमानामा सञ्चालन भइरहेका होटल र मदिरा पसलका कारण चोरी, तस्करी तथा अन्य आपराधिक गतिविधि बढ्ने खतरा भएकाले तत्काल नियन्त्रण आवश्यक रहेको बताए ।
सीमा सहजीकरण बैठकमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङ,राष्ट्रिय अनुसन्धानका उपनिर्देशक सरोज निरौला ,सशस्त्र प्रहरी बल बिओपी मटिअर्वाका प्रहरी नायब उपरीक्षक सुधिर खतिवडा लगायत स्थानिय तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।

