बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुवरले पत्रकार सम्मेलनमार्फत पक्राउ परेका दुवै जनालाई सार्वजनिक गरेको हुन् ।
जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरा बस्ने मनमती चौधरीकी छोरी गरिमा साउन ३१ गतेदेखि हराइरहेकी थिइन्। भदौ २ गते वीरबहादुर रोकाको एकतले घरको खाली कोठाभित्र बालिका मृत अवस्थामा फेला परेपछि इलाका प्रहरी कार्यालय सिमरा, जिल्ला प्रहरी कार्यालय बारालगायतको टोली घटनाको अनुसन्धानमा खटिएको थियो। अनुसन्धानका क्रममा प्रदेश प्रहरी कार्यालय वीरगञ्जबाट तालिमप्राप्त कुकुरसहितको टोलीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा जीतपुरसिमरा उपमहानगरपालिका -२ बस्ने १६ वर्षीय म्याजिक सहचालक सुमन थापाले बालिकालाई चकलेटको प्रलोभन देखाएर फकाई लगेको र जबरजस्ती करणीपछि हत्या गरेको खुलेको एसपी कुवरले जानकारी दिएका छन् ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले म्याजिक सहचालक सुमन थापा र ना.१ ज ७७५८ नम्बरको म्याजिकका २४ वर्षीय चालक प्रोग्रेस चौधरीलाई नियन्त्रणमा लिएको छ।
उक्त दुवै जनाविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट चार दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुवरले जानकारी दिएका छन्।


