मौलापुरले नगरबासीको ३५ लाख विधुत महसुल बुझायो नेपाल विधुत प्राधिकरणलाई

साझेदारी दैनिक
229 पाठक संख्या

रौतहट : करण कुमार मिश्र / रौतहटको मौलापुर नगरपालिकाले नगरबासीको ३५ लाख रुपैयाँको विधुत महसुल नेपाल विधुत प्राधिकरण मौलापुर शाखालाई बुझाएको छ।

नगरपालिकाले निःशुल्क विधुत कार्यक्रम अन्तर्गत नगरवासीहरूको विद्युत महसुलको तेस्रो किस्ता बापत ३५ लाख रुपैयाँको चेक शुक्रवार हस्तान्तरण गरेको हो।

नगरप्रमुख रिना कुमारी साहको निर्देशनमा उक्त चेक मौलापुर वितरण केन्द्रका आय प्रमुख सुरेशप्रसाद चौधरीलाई हस्तान्तरण गरिएको हो।

यो रकमबाट पुष,माघ र फाल्गुन महिनाका घरायसी तथा कृषि विद्युत मिटरहरूको महसुल भुक्तानी हुनेछ। चालु आर्थिक वर्ष २०८१/०८२ मा हालसम्म मौलापुर नगरपालिकाले २ करोड २० लाख रुपैयाँको विधुत महसुल बापतको रकम प्राधिकरणलाई बुझाईसकेको प्रमुख प्रशासकीय अधिकृत रामबाबू साहले साझेदारी दैनिकलाइ बताए।

मौलापुर नगरभित्र आम जनताको बिजुली र पानी निःशुल्क रहेको छ । नगरबासीको बिजुली र पानीको पैसा मौलापुर नगरपालिकाले तिर्दै आएको छ ।

मौलापुर नगरपालिकाले ‘फ्री बिजुली, फ्री पानी’ कार्यक्रम सञ्चालन गरेकोे छ । झण्डै ५ वर्षदेखि जनताको घरायसी मिटर र कृषि मिटरको सम्पूर्ण रकम नगरपालिकाले तिर्दै आएको छ ।

यस्तै मौलापुरकी मेयर साहको पहलमा कानून अनुसार विवाह गर्न उमेर पुगेका गरिब,असहाय परिवारका छोरीको विवाहका लागि नगद ३० हजार रुपैया उपलब्ध गराउँदै आएकी छन् । ‘असहायका साथ मेयर’ भन्ने कार्यक्रम अन्तरगत सो रकम मौलापुर नगरपालिकाले उपलब्ध गराउँदै आएको छ ।

मेयर साहकै पहलमा मौलापुर नगरपालिकामा मालपोत शुल्क,नागरिकता सिफारिस,विवाह दर्ता,मृत्यु दर्ता लगायतका बिभिन्न सिफारिसहरुको समेत शुल्कहरु शुन्य बनाइएको छ । शून्य शुल्कको नीति लिएको मौलापुरको यस्तो कामले सर्वसाधारण खुशी छन्।

Leave a review