Sajhedari Daily
Latest News from Nepal

गरिब तथा विपन्न परिवारलाई ग्याँस सिलिण्डर र चुल्हो वितरण

कलैया उपमहानगरपालिका वडा नम्बर २ वडा कार्यालयले खाना पकाउने एलपी ग्याँस सिलिण्डर र चुल्हो वितरण गरेको छ ।
वडा कार्यालयले वडाको सानो दोहरीटोलका गरिब, अतिविपन्न ८० घर परिवारलाई बुधवार एक कार्यक्रमवीच सिलिण्डर र चुल्हो वितरण गरेको हो।

वडाध्यक्ष राजेश कुमार महतोले वडाको दलित बस्ती सानो दोहरीमा रहेका गरिब र विपन्न परिवारहरुलाई एलपी ग्याँस सिलिण्डर र चुल्हो हस्तान्तरण गरेका छन ।

गरिबी र विपन्नताका कारण वर्षौदेखि दाउरा खोजेर माटाको चुलोमा आगो बाल्ने र भाँडा बसाल्ने काम गर्दै आएका कलैया उपमहानगरपालिका–२ दलित बस्तीका परिवारहरुलाई वडा कार्यालयबाट निःशुल्क रुपमा ग्याँस र चुल्हो वितरण गरिएको वडाध्यक्ष महतोले साझेदारी दैनिकलाई बताएका छन ।

धुवाँमुक्त वडा र स्वस्थ समाज निर्माणका लागि गरिब, विपन्न र निम्न आय भएका परिवारलाई निःशुल्क रुपमा खाना पकाउने ग्याँस र चुल्हो वितरण गरिएको वडा सदस्य किशोरीलाल महतोले बताए ।

दाउराबाट निस्केको धुवाँ र धुलोले श्वासप्रश्वास, दम र क्षयरोगलगायत रोग लाग्ने सम्भावना बढी हुने भएकाले विशेषगरी भान्सामा काम गर्ने गृहिणीको स्वास्थ्यलाई ध्यानमा राखेर खाना पकाउने एलपी ग्याँस सिलिण्डर र चुलो वितरण गरिएको अर्का वडा सदस्य दिपेन्द्र प्रसाद यादवले बताए ।