कलैया : बारामा भर्खरै सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरूबाट दिइने सेवा प्रवाहलाई चुस्त र दुरुस्त पार्ने बताएका छन्।
जिल्ला प्रशासन कार्यालय बाराको सभाहलमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले यस्तो बताउनुभएको हो । उहाले जिल्ला तथा इलाका प्रशासन कार्यालयमा कर्मचारी अभावले गर्दा सेवा प्रवाहमा कठिनाइ आएको स्वीकार गर्दै चाँडै नै समस्यालाई समाधान गरेर जनतालाई सेवाको अनुभूति हुनेगरी काम गर्ने बताउनुभयो । नागरिकता तथा राष्ट्रिय परिचयपत्र वितरणलाई थप सहज बनाईने उहाले बताए ।
जिल्ला प्रशासन कार्यालयमा टोकन प्रणाली लागू गरेको भएपनि व्यवस्थित नभएकोले सेवाग्राहीहरूले थप समस्या भोग्दै आइरहेका बताउदै प्रजिअ पौडेलले टोकन प्रणालीलाई व्यवस्थित गरी तत्कालै सेवा प्रवाह हुने र आएका सेवाग्रही काम नरोक्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्।
यस्तै प्रजिअ पौडेलले बजार अनुगमनलाई निरन्तरता दिने बताएका छन् । उनले चाडपर्व लक्षित मात्रै अनुगमन नभई अनुगमनलाई निरन्तरता दिने बताएका हुन् ।
प्रजिअ पौडेल यसअघि चितवनका प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत थिए। यस अघि बारामा प्रमुख जिल्ला अधिकारीको रूपमा बसन्त अधिकारी रहेका थिए।
यसैविच प्रमुख जिल्ला अधिकारी पौडेलले आयोजना गरको पत्रकारहरुसंग भेटघाट कार्यक्रम पत्रकारहरुको सहभागिता न्युन रहेको बताईएको छ । धेरै पत्रकारहरुले प्रजिअ पौडेलले राखेको उक्त भेटघाट कार्यक्रमवारे सूचना नै नपाएको बाराली पत्रकारहरुले गुनासो गरेका छन ।

