जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित टेढा रोडमा यात्रु चढाउने विषयमा भएको विवादले उग्र रूप लिँदा दुई अटोचालकबीच झडप भएको छ। घटनामा एक चालकको कान चुँडिएको छ भने प्रहरीले दुवै पक्षलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
आइतबार भएको उक्त घटनामा घाइते हुने अटोचालक गोविन्द बस्नेत रहेको इलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ। उनको एउटा कान चुँडिनुका साथै शरीरका विभिन्न भागमा चोट लागेको छ। प्रारम्भिक उपचारपछि थप उपचारका लागि अस्पताल पठाइएको छ।
प्रत्यक्षदर्शीका अनुसार टेढा रोडमा पर्साका विभिन्न ग्रामीण गन्तव्यका लागि यात्रु कुरिरहेका अटोचालकहरूबीच एउटै यात्रु आफ्नो सवारीमा चढाउने विषयमा विवाद सुरु भएको थियो। सामान्य भनाभनबाट सुरु भएको विवाद केहीबेरमै हात हालाहालको अवस्थामा पुगेको थियो।
स्थानीयका अनुसार झडपकै क्रममा अर्का चालक रामबहादुर श्रेष्ठले धकेलेपछि गोविन्द बस्नेत नजिकै रहेको मोटरसाइकलमा ठोक्किएका थिए। मोटरसाइकलको धारिलो भाग कानमा लाग्दा उनको एउटा कान चुँडिएको थियो। घटनापछि उनी रगताम्मे अवस्थामा ढलेका थिए भने स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पु¥याएका थिए।
घटनाबारे सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले विवादमा संलग्न दुवै चालकलाई नियन्त्रणमा लिनुका साथै उनीहरूले चलाएका अटोसमेत प्रहरी नियन्त्रणमा राखेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
झडपमा संलग्न दुवै अटो जीतपुरको टेढा रोडबाट पर्सा जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा नियमित यात्रु सेवा सञ्चालन गर्दै आएका छन्। स्थानीयवासीका अनुसार जीतपुर क्षेत्रमा बस, म्याजिक र अटोचालकबीच यात्रु तान्ने अस्वस्थ प्रतिस्पर्धा पछिल्लो समय बढ्दै गएको छ। तोकिएको पार्किङस्थलभन्दा बाहिर सवारी रोक्ने, पालो नमानी यात्रु चढाउने तथा ट्राफिक नियमको बेवास्ता गर्ने प्रवृत्तिका कारण यस्ता विवाद बारम्बार दोहोरिने गरेको उनीहरूको भनाइ छ।
स्थानीयले सार्वजनिक यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायले नियमित अनुगमन गर्न, तोकिएको स्थानबाट मात्रै यात्रु चढाउने व्यवस्था कडाइका साथ लागू गर्न तथा चालकहरूलाई अनुशासित र जिम्मेवार बनाउन आवश्यक कदम चाल्न माग गरेका छन्।


