गढीमाई साझेदारी बन उपभोक्ता समूहको चौथो साधारण सभा सम्पन्न

रासस
306 पाठक संख्या

बारा । बाराको पथलैयास्थित गढीमाई साझेदारी बन उपभोक्ता समूहले मधेश प्रदेशमै पहिलो चोटि आफ्नो चौथो साधारण सभा सम्पन्न गरेको छ ।

सभाको उद्घाटन साझेदारी बन उपभोक्ता महासंघका अध्यक्ष तथा कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख चौधरीले गढीमाई साझेदारी बन धेरै संघर्षपछि उपभोक्ताले पाएको बन भएकाले यसको संरक्षण र व्यवस्थापन गर्ने जिम्मेवारी सबै उपभोक्ताको भएको बताए । उनले यसलाई निकुञ्जमा मिसाउन नपर्ने भन्दै महासंघले संघर्ष गरेर साझेदारीमा ल्याएको स्मरण गरे ।

साथै, काठ बिक्रीबाट हुने आम्दानीको १० प्रतिशत स्थानीय तहमा जानुपर्ने माग महासंघको रहेको तर हाल उक्त रकम राष्ट्रिय आयमा गइरहेको बताए । बनको सेवा सुबिधाबाट बञ्चित उपभोक्तालाई समेटर गढीमाई साझेदारी बन उपभोक्ता समुह बनाएको बताए ।

मधेश प्रदेश बन निर्देशनालयका निर्देशक जगन्नाथ जैसवालले जंगल संरक्षण, संवद्र्धन र उत्पादन गर्ने जिम्मेवारी उपभोक्ता समूहकै भएको उल्लेख गरे । आवश्यक्ता अनुसारको रुख बिरुवा लगाएर संरक्षण गर्नमा दतचित भएर लाग्न अनुरोध गरे ।

त्यस्तै, डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीवकुमार झाले चोरी निकासीका कारण साझेदारी बनको आम्दानी घटिरहेको बताउँदै उपभोक्ता समूहलाई अझ सशक्त निगरानी गर्न आग्रह गरे ।

उनले चोरीको काठ र दाउरा सम्बन्धित जिल्लामै बिक्री हुने भएकाले त्यसमा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए ।

गढीमाई साझेदारी बन उपभोक्ता समूहका अध्यक्ष रामएकबाल प्रसाद तेलीले उपभोक्ताले नियमअनुसार दिएको निवेदन तत्काल सुनुवाइ गरी काठ वितरण गर्ने प्रचलन रहेको बताए । अनुगमन समितिको अनुमति प्राप्त भएपछि मात्र वितरण हुने भएकाले शंका नगर्न आग्रह गरे ।

उनले चिरान मिलमा लिलामीमार्फत पाइने काठ सस्तो हुने भएकाले उपभोक्ताले बढी रोज्ने गरेको बताए । साथै, सेवा शुल्क ८० प्रतिशतसम्म घटाउने तयारी समूहले गरेको जानकारी दिए ।

Leave a review

This will close in 0 seconds