वीरगञ्ज । वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा पठन पाठन ठप्प रहेको छ। विद्यार्थि र कर्मचारी दुवै आन्दोलित भएका छन्। कक्षा सञ्चालन नहुँदा आक्रोशित विद्यार्थीहरूले बुधवार बिहान क्याम्पसको मूल गेटमा धर्ना दिएका छन्।
कक्षा ११, १२ र स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूले नियमित पठनपाठन सुचारु गर्न माग गर्दै प्रशासनविरुद्ध नाराबाजी र धर्ना दिएका छन्।
आन्दोलनरत विद्यार्थीहरूले क्याम्पस प्रमुख किशोरी राय यादव, शिक्षक–कर्मचारी र व्यवस्थापन समितिबिचको विवादका कारण साउन महिनायता नियमित कक्षा सञ्चालन नभएको जनाएका छन्।
हिजोदेखि क्याम्पस खुले पनि विवादले बन्द भएपछि स्नातक तहमा अध्ययनरत विद्यार्थी शिवशङ्कर प्रसाद कुशवाहले जानकारी दिए।
यसैबिच शिक्षक र कर्मचारीहरूले पनि क्याम्पस प्रशासनविरुद्ध तालाबन्दी गर्दै अनिश्चितकालीन आन्दोलन थालेका छन्। क्याम्पसको शैक्षिक वातावरण जटिल बनेको छ ।
मङ्गलवारदेखि शिक्षक र कर्मचारीहरूले क्याम्पसको प्रशासनिक फाँट र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरी अनिश्चितकालीन आन्दोलन सुरु गरेका थिए।

