बारा र पर्सा जिल्लाका उद्योगी ब्यवसायीहरुलाई खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी अन्तरक्रिया सम्पन्न

रञ्जन यादव
432 पाठक संख्या

जीतपुर । खाद्य स्वच्छता तथा गुणस्तरसँग सम्बन्धित सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रम जीतपुरसिमरा उपमहानगरपालिकास्थित नगर उद्योग वाणिज्य संघको सभाहल जीतपुरमा सम्पन्न भएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधाम, धनुषाको आयोजनामा बारा र पर्सा जिल्लाका उद्यमी तथा व्यवसायीहरूसँग आयोजना गरिएको उक्त अन्तरक्रिया भएको हो।

कार्यक्रममा अनलाइन सिफारिस लिने प्रक्रिया, निबेदन दिने तरिका, व्यवसाय नवीकरणका प्रक्रिया, तथा हालै लागू भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण ऐन २०८१ सम्बन्धी विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।

अन्तरक्रिया कार्यक्रममा व्यवसाय सञ्चालनका क्रममा पालना गर्नुपर्ने मापदण्ड, खाद्य वस्तुको गुणस्तर परीक्षण, लेबलिङ, र स्वच्छताका विषयमा समेत व्यवसायीहरूलाई सचेत गराएका थिए।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पर्साका प्रमुख सरेश साहको अध्यक्षतामा भएको सो अन्तरक्रियामा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने प्रमुख अतिथ्यिता थियो।

कार्यक्रममा बारा–पर्साका विभिन्न उद्योगका प्रतिनिधि, व्यापारी, संघ–संस्थाका प्रतिनिधि तथा स्थानीय सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो। सो अवसरमा सहभागिहरूले यस्तो प्रकारका अन्तरक्रियाले व्यवसाय सञ्चालनमा कानुनी स्पष्टता र गुणस्तर सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।

Leave a review

This will close in 0 seconds