बारा । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार ईन्जिनियर अरविन्द साहले शुक्रबार बाराको जितपुर सिमरा उपमहानगरपालिकाको डुमरवानामा घरदैलो गरेका छन्।
घरदैलोको क्रममा उनले नागरिकसंग जनताका समस्या र मुद्दालाई सशक्त रूपमा उठान गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। वडा नम्बर १५ डुमरवानामा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनले आफु समस्या समाधानको पक्षमा रहेको जनाएका हुन्।
घरदैलोका क्रममा स्थानीयवासीसँग संवाद गर्दै रोजगारी, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा सुशासन आप्mनो प्राथमिकतामा रहेको बताएकाहुन्। विकासका कार्यक्रम कागजमा मात्र सीमित नभई व्यवहारमा देखिनुपर्छ उनले भने। संसदमा पुगेर क्षेत्रका वास्तविक समस्या मजबुत रूपमा उठाउने उनले जनाए।
समस्या सुन्ने मात्र होइन, समाधानतर्फ लैजाने कुरालाई प्राथमिकतामा राखेको उनले सुनाए। जनताले दिएको मतको जिम्मेवारी इमानदार ढंगले निर्वाह गर्ने जनाउँदै बारा क्षेत्रलाई केन्द्रको उपेक्षाबाट मुक्त गराउँदै परिणाममुखी विकास आवश्यकता रहेको तथ्य उनले औल्याए। घरदैलो भेटघाटका क्रममा स्थानीय मतदाताहरूले ई. साहप्रति उत्साह देखाएको पाइएको छ।
मतदाताहरुको वैकल्पिक राजनीतिप्रति भरोसा बढेको प्रतिक्रिया आएको छ। स्थानीयहरूले पुरानै शैलीको राजनीतिबाट दिक्क भइसकेको र नयाँ सोच तथा स्पष्ट एजेन्डा भएका उम्मेदवारको खोजीमा रहेको बताएका छन्।
रास्वपाका केन्द्रीय परिषद् सदस्य डा. सुशील साह, मधेस प्रदेश उपसभापति राधिका न्यौपाने, जितपुर सिमरा उपमहानगर समिति सभापति सुरेश केसी लगायतका पार्टीका नेता तथा कार्यकर्ताहरुले साहलाई घरदैलोमा साथ दिएका छन्।
जनतासँग सिधा संवाद गर्दै अघि बढ्नु नै पार्टीको राजनीतिक कार्यशैली रहेको छ। ती सुझावलाई आफ्नो चुनावी एजेन्डामा समेट्दै संसदमा प्रभावकारी रूपमा उठाउने उनले बताएका हुन्।


