बारा । सप्तरीको इलाका प्रहरी कार्यालय बोदेबरसाइनका प्रमुख प्रहरी नायब निरीक्षक (सई) शिवशंकर शर्माले तस्करीका सामान र आरोपीलाई नियन्त्रणमा लिएर छाडेको आरोपमा जिम्मेवारीबाट हटाइएको छ।
साउन १८ गते भारतबाट भन्सार छली ल्याइएका मोबाइलका पार्टपुर्जा, मोटरसाइकल र तस्करका भरिया सुनिल मण्डललाई स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसपछि सामान र भरिया छुटाउन आएका मुख्य कारोबारी देव कुमार यादवलाई समेत नियन्त्रणमा लिइए पनि पछि दुवै जनालाई छाडिएको र घटना विवरणको मुचुल्का नै फेरबदल गरिएको दाबी गरिएको छ।
घटनाको वास्तविकता छिपाउन प्रहरीले साउन १९ गते राति बेवारिसे अवस्थामा सामान बरामद भएको र तस्करहरू फरार भएको भन्दै गलत विवरण सार्वजनिक गरेको थियो।
यसरी वास्तविक घटना बंग्याएर तस्करलाई उम्काएको भन्दै स्थानीय स्तरमा व्यापक विरोध भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले डिएसपी हेमराज घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन टोली गठन गरेको थियो।
प्रारम्भिक छानबिनमा सई शर्माले माथिल्लो निकायमा गलत प्रतिवेदन बुझाएको पाइएपछि उनलाई जिल्ला तानिएको छ भने बोदेबरसाइनको जिम्मेवारी सई गुप्तबहादुर राउतलाई दिइएको छ।


