कलैया । ७० औं प्रहरी दिवस २०८२ को अवसरमा बारामा दुई महिलासहित ७१ जनाले रक्तदान गरेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराले आज आयोजना गरेको रक्तदान कार्यक्रममा दुई महिलासहित ७१ जनाले रक्तदान गरेक हुन् । सो कार्यक्रम प्रादेशिक अस्पताल कलैया ब्लड बैंकको सहकार्यमा सम्पन्न भएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक सन्तोष तामाङले रक्त संकलन ब्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरेका थिए ।
उक्त रक्तदान कार्यक्रममा प्रहरी प्रमुख तामाङसहित प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डित, इलाका प्रहरी कार्यालय सिमराका कार्यालयप्रमुख एवम् प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशी, प्रहरी निरीक्षक खेम प्रसाद नेपाल र प्रकाश खड्का लगायतका प्रहरी कर्मचारीहरूले समेत रक्तदान गरेको कलैया ब्लड बैंकका इन्चार्ज राजाबाबु गुप्ताले जानकारी दिएका छन् ।
नेपाल प्रहरी स्थापना दिवसको अवसरमा हरेक बर्ष प्रहरी दिवसमा जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।


