वीरगञ्ज : पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत विहार बैशाली जिल्ला विदुपुर ग्राम बस्ने २३ वर्षीय राजा कुमार पक्राउ परेका हुन्। उनको साथबाट लागु औषध गाँजा जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ३ के.जी.१९० ग्राम बरामद भएको हो। सोही ठाउँका राजामाइकल पञ्चायत बस्ने वर्ष २३ को बिशाल कुमार पक्राउ परेका हुन्। उनको साथबाट लागु औषध गाँजा जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ३ के.जी.२५० ग्राम बरामद भएको छ।
भारत बिहार छपरा जिल्ला सोनपुर ग्राम वडा नं.३ बस्ने वर्ष २४ को पिन्टु कुमार पक्राउ परेका हुन्। उनको साथबाट लागु औषध गाँजा जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ३ के.जी.३०० ग्राम बरामद भएको छ। पक्राउ परेकाहरुबाट नौ केजी तीन सय ८० ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर वस्नेतले जानकारी दिएका छन्।
बिशेष सूचनाको आधारमा पर्सा पर्सागढी नगरपालिका वडा नं.९ बडेर्वा पेट्रोलपम्प स्थित सडकखण्डमा प्रहरी चौकी मनवाबाट खटिएको प्रहरी टोलीले जाँच गरेको हो। नेपालबाट भारततर्फ संकास्पदरूपमा तीन जना पैदल हिंडिरहेका व्यक्तिहरूलाई रोकी प्रहरीले खानतलाशी गरेको हो। लागुऔषध गाँजा फेला परेको हुँदा बरामद लागु औषध सहित नियन्त्रणमा लिइएको छ।
उनीहरुलाई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान गर्नका लागि पर्सा जिल्ला अदालतबाट दिन–८ (आठ) म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको वस्नेतले जानकारी दिए।


