लकडाउनमा निजगढबाट गएकाथिए काठमाडौंमा कोरोना पुष्टि भएका बालक

साझेदारी दैनिक
साझेदारी दैनिक 522 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

नवरा चौलागाईं,/
काठमाडौंको चन्द्रागिरी नगरपालिका दहचोकमा बस्ने कोरोना संक्रमित ७ वर्षीय वालक निजगढबाट गएको खुलेको छ । गत चैत्र ८ गते आमासंग दिदीको घर निजगढ नगरपालिका वडा नम्बर १२ रामथली आएका वालक बैशाख ६ गते बिरामी लिएर काठमाडौं गएको एम्बुलेन्समा काठमाडौं पुगेका थिए ।

एम्बुलेन्समा उपचारका लागि गएका बिरामी र आफन्तहरुले बालक कोरोना संक्रमित भएको थाहा पाएपछि आफुलाई खबर गरेको वडा नम्बर १२ का वडाअध्यक्ष ज्ञानवहादुर गोलेले साझेदारीलाई बताए ।

संक्रमित बालक बसेर गएको वडा नम्बर १२ स्थित उक्त टोलमा उच्च सतर्कता अपनाइएको छ । संक्रमित बालक बसेको वडा नम्बर १२ स्थित उक्त टोलमा शुक्रबार दिउसोदेखी उच्च सतर्कता अपनाउदै स्थानीयलाई घर भित्रै राखिएको निजगढ नगरपालिकाका नगर प्रमुख सुरेश कुमार खनालले साझेदारी दैनिकलाई बताए ।

संक्रमित बालकसंग सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसीङ भईरहेको नगर प्रमुख खनालले बताए । एम्बुलेन्स चालकलाई क्वारेन्टाइनमा राखिएको छ । चालक सहित उपचारका लागि काठमाडौं गएका र बालक बसेको टोलका स्थानियहरुको कोरोना परिक्षणका लागि शनिबार बिहान स्वाब संकलन गरिने निजगढ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले बताए ।

निजगढबाट गएका बालकमा कोरोना संक्रमण पुस्टि भएसंगै नगर क्षेत्रमा त्रास बढेको छ । बालक गएको तीन हप्ता भन्दा बढी समयपछि कोरोना संक्रमित देखिएको र आमाको नतिजा समेत नेगेटिभ आएकाले बालक निजगढबाटै संक्रमित भएर गएका हुन वा काठमाडौं मै पुगेपछि संक्रमित भएका हुन भन्ने विषय अन्यौल भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक बिकास थपलियाले साझेदारीलाई बताए ।

समाचार शेयर गर्नुहोस
Leave a review