कलैया : नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले ऋण पाउनुपर्ने सबै नागरिकको अधिकार रहेको बताएका छन्।
पर्साको वीरगञ्जस्थित होटल सरोवर पोर्टिको सभाहलमा शुक्रबार नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयद्वारा आयोजित ‘रोल अफ सेन्ट्रल बैंक इन ट्रान्सफर्मिङ इकोनोमिक्स: सेन्ट्रल एण्ड रिजनल मधेस प्रोस्पेक्ट्स’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले ऋण कहाँ र कसरी गइरहेको छ भन्ने कुरामा बैंकका कर्मचारीले गम्भीर ध्यान दिनुपर्ने बताए। “आँखा बन्द गरेर ऋण दिएर एक वर्षपछि धितो लिलामतर्फ जानु गलत हो,” उनले भने, “परियोजना मूल्यांकन गर्ने क्षमता बैंकले बढाउनुपर्ने उनले बताए ।
ऋण प्रवाह सकेसम्म सबै समुदायसम्म पुर्याउन आग्रह गर्दै ऋणलाई हावापानीजस्तै रहेको गभर्नर डा. पौडेलले बताएका छन् । “ऋण केवल उत्कृष्ट परियोजनालाई मात्र होइन, व्यवसायमार्फत गरिबीबाट माथि उठ्न चाहने सबैलाई दिनुपर्छ,” उनले भने।
बिचौलियामार्फत ऋण लगानी भए कुनै पनि हालतमा सहन नहुने स्पष्ट गर्दै उनले ऋणसम्बन्धी सर्त तथा प्रक्रिया स्थानीय भाषामै स्पष्ट रूपमा बुझाउन उनले निर्देशन दिए। साथै, बैंकका कर्मचारीहरूलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै पछिल्लो समय कर्मचारीमाथि हुने हातपात तथा कालोमोसो दल्ने घटनामा संलग्नलाई कडा कारबाही गरिने बताए।
नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयका निर्देशक सुशील पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि गभर्नर डा. पौडेल रहनु भएको थियो । कार्यक्रममा नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका निर्देशक डा. रामशरण खरेल र वीरगञ्ज कार्यालयका निर्देशक सुशील पौडेलले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक गभर्नर कार्यालयका कार्यकारी निर्देशक दयाराम शर्मा पंगेनी, आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. रामशरण खरेल, विभिन्न बैंकका शाखा प्रबन्धक तथा कर्मचारी, सञ्चारकर्मी, उद्योग वाणिज्य संघका पदाधिकारी, युवा उद्यमी, व्यवसायी तथा उद्योगपति लगायतको सहभागिता रहेको थियो।
सो कार्यक्रममा स्वागत मन्तव्य नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयका उप-निर्देशक जगदीश कुमारले राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन सहायक निर्देशक सन्देश कुमार ठाकुरले गर्नु भएको थियो ।

