कलैया । पर्सा प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी हुण्डी रकम सहित ३ जनालाई पक्राउ गरेको छ।
विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं ३ गडैयाटोलस्थित सडकखण्डमा ना १६ प ३०२० नम्बरको मोटरसाइकलमा आउँदै गरेको ३ जनालाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट स्रोत नखुलेको १० लाख २ हजार १० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पक्राउ पर्नेमा सखुवा प्रसौनी गाउँपालिका वडा नं ४ देवरवाना बस्ने २२ वर्षिय पवन कुमार साह, ३० वर्षिय मुस्ताक अंसारी र १९ वर्षिय रामपुकार पासवान रहेका सुचना अधिकारी राजु कार्कीले जानकारी दिएका छन् ।
उनका अनुसार उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ ।

