रौतहट। रौतहटमा एकैदिन छाडा कुकुरको टोकाइबाट ५० जना भन्दा बढी सर्वसाधारण घाइते भएका छन्। आज बिहानैदेखि जिल्लाका विभिन्न पालिकामा एक्कासि कुकुरको आक्रमण बढेपछि ५० भन्दा बढी सर्वसाधारण घाइते भएका छन्।
विशेषगरी गढीमाई नगरपालिका र आसपासका क्षेत्रहरूमा कुकुरको टोकाइका घटनाहरू बढी देखिएका छन्, जसमा बालबालिका, महिला तथा वृद्धवृद्धासमेत परेका छन्।
कुकुरको टोकाइबाट घाइते हुनेहरू गढीमाई नगरपालिका वडा नं. १, ४, ६ र ८ का बासिन्दासँगै फतुवा विजयपुर नगरपालिका तथा राजपुर नगरपालिकाका केही गाउँका स्थानीयहरू रहेको जनाइएको छ। प्राप्त विवरणअनुसार सबैभन्दा बढी घाइते गढीमाई नगरपालिकाभित्र रहेका छन्।
घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर, रौतहटमा ल्याइएको छ। अस्पताल स्रोतका अनुसार हालसम्म २७ जना घाइतेलाई रेबिजविरुद्धको खोप लगाइसकिएको छ।
कुकुरको टोकाइ गम्भीर देखिएका केही घाइतेलाई थप उपचारका लागि वीरगञ्जस्थित अस्पतालतर्फ रेफर गरिएको अस्पतालले जनाएको छ।
प्रादेशिक अस्पताल गौर, रौतहटका सूचना अधिकारी कपिलदेव झाले कुकुरको टोकाइबाट घाइते हुनेको संख्या क्रमशः बढिरहेको जानकारी दिए। उनका अनुसार अस्पतालमा उपचाररत सबै घाइतेको स्वास्थ्य अवस्थामाथि निरन्तर निगरानी राखिएको छ भने आवश्यक औषधि, रेबिजविरुद्धको खोप तथा चिकित्सकीय सेवा पर्याप्त मात्रामा उपलब्ध गराइएको छ।
यसैबीच, एक्कासि कुकुरको आक्रमण बढेपछि स्थानीयवासीमा त्रास फैलिएको छ। बिहान–बेलुका आवतजावत गर्न समेत कठिनाइ भइरहेको स्थानीयको गुनासो छ। बालबालिकालाई विद्यालय पठाउन तथा वृद्धवृद्धालाई घरबाहिर निस्कन डर लाग्ने अवस्था सिर्जना भएको उनीहरू बताउँछन्।
स्थानीय बासिन्दाले कुकुर नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न सम्बन्धित स्थानीय तह, प्रशासन र सरोकारवाला निकायसँग माग गरेका छन्। खुला रूपमा छाडिएका तथा आक्रामक कुकुरका कारण यस्तो अवस्था आएको भन्दै शीघ्र नियन्त्रण, खोप कार्यक्रम र व्यवस्थापन गर्नुपर्नेमा उनीहरूको जोड छ।
हाल घटनाको विषयमा सम्बन्धित निकायले थप अध्ययन र आवश्यक तयारी गरिरहेको बताइएको छ भने कुकुरको आतङ्क कहिले नियन्त्रणमा आउने हो भन्नेबारे स्थानीयवासी चिन्तित बनेका छन्।


