काठमाडौं : प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) र कैलाश महतोको नेतृत्वमा रहेको स्वाधीन मधेस जन अभियान बीच पार्टी एकीकरण गर्ने सहमति भएको छ । आजपाको मोवाइल चुनाव चिन्हबाटै २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा सहभागि हुने छ बुँदे सहमति पत्रमा लेखिएको छ।
काठमाडौंको कोटेश्वर स्थित आजपाको केन्द्रीय कार्यालयमा बुधबार पार्टी एकीकरण गर्ने बारे सहमति भएको हो। आजपा अध्यक्ष प्रभु साह र स्वाधीन मधेस जनअभियानका संयोजक कैलाश महतोले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
‘आम जनता पार्टी र स्वाधीन मधेश जन–अभियान बीच भएको एकीकरण कार्यलाई दिगो र परिणाममुखी बनाउन आन्दोलनका कार्यक्रमहरुलाई निरन्तरता दिने समेत सहमतिपत्रमा लेखिएको छ। आसन्न प्रतिनिधिसभा निर्वाचनमा आम जनता पार्टीको चुनाव चिन्ह मोवाइल छाप प्रयोग गरी समानुपातिक र प्रत्यक्ष चुनावमा भाग लिने सहमतिपत्रमा लेखिएको छ।
पूर्ण समानुपातिक निर्वाचन÷प्रतिनिधित्व प्रणाली, दलविहीन स्थानीय निर्वाचन, राज्य राष्ट्रको शासन पद्धति लगायत जनपक्षीय मुद्धाहरुलाई संविधानमा समावेश गराउने सहमति समेत यी दुई दलविच भएको छ। नेपालको संविधान अधूरो, अपूरो, त्रुटिपूर्ण र विभेदकारी समेत रहेको हुँदा यसलाई पूर्णतः खारेज गरी नयाँ संविधान लेख्ने समेत यी दुई दलले सहमति गरेका छन्।
राष्ट्रियता, जनजीविका, समानता र न्यायसंग सम्बन्धित मुद्धाहरुमा आन्दोलनका कार्यक्रमलाई शसक्त रुपमा अगाडी बढाउने हस्ताक्षर पत्रमा भनिएको छ । आजपा सहअध्यक्ष तिलक थापामगर, सचिवालय सदस्यहरु रविन्द्र सिंह, बालकृष्ण सापकोटा, केन्द्रीय सदस्य चन्द्रिका साह, अभियानका नेता विपिन अधिकारी लगायतको विशेष उपस्थिति रहेको आजपा सचिवालय सदस्य सुभाष साहले जनाएका छन्।
आजपाले गत मंगलबार एकैदिन दुई पार्टीसंग एकीकरण गरेको घोषणा गरेको थियो। रामकुमार महतो नेतृत्वको नेपाल सदभावना पार्टी (नेसपा) र ईमदाद गद्दी नेतृत्वको जन अधिकार पार्टी नेपालसंग पार्टी एकता आजपाले गरेको हो।
यसअघि आजपाले जनादेश पार्टी, लघुवित पीडित संघर्ष समिति, सहकारी पीडितका लागि संघर्ष गर्दै आएको समिति लगायतसंग चुनावी सहमति एवं गठबन्धन गरेको हो। पछिल्लो समय विभिन्न पार्टीले आजपासंग पार्टी एकताका साथै विभिन्न पार्टीका नेता, समाजसेवी, युवा, विद्यार्थी लगायत व्यक्तिहरु प्रवेश गर्ने लहर चलेको पाइएको छ।


