बारा निर्वाचन क्षेत्र नम्बर १ मा एमाले–जसपा गठबन्धनले असन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको लागि संयुक्त प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ ।
नेकपा एमाले र जनता समाजवादी पार्टीको संयुक्त चुनाव प्रचार समितिले प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो । एमाले–जसपा गठबन्धन बारा क्षेत्र नम्बर १ को प्रतिबद्धतापत्रमापूर्वाधार निर्माण, पर्यटन प्रबर्दन, कृषि, शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी, सुकुम्बासी समाधान जस्ता विषयलाई सम्बोधन गर्ने उल्लेख गरिएको छ ।
एमाले–जसपा गठबन्धनले बारा क्षेत्र नम्बर १ का लागि “तालतलैयाको शहर सिम्रौनगढ, विकास गर्ने हाम्रो रहर” भन्ने नारा दिएर घोषणापत्रमा सिम्रौनगढको ऐतिहासिक एंव पुरातात्विक सम्पदाहरुको संरक्षण र जीर्णोद्वार गरी यस क्षेत्रलाई मधेस प्रदेशको प्रमुख सांस्कृतिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने जनाएको छ ।
राष्ट्रिय पुरातात्विक म्युजियम स्थापना गरी संचालन गर्ने, सिम्रौनगढ र आदर्शकोतवाललाई समेटेर व्यवस्थित रिंङ्ग रोडसहित मधेस प्रदेशकै नमुना शहरको रुपमा विकास गर्ने, माछा, केरा, तरकारी, दुध र अन्न बालीको उत्पादकत्व वृद्धि गर्न सिम्रौनगढ, आदर्शकोतवाल, कोल्हबी र निजगढलाई तरकारी, माछा र केरा पकेट क्षेत्रको रुपमा विकास गर्ने, सोको बजार व्यवस्थापन गर्ने तथा विभिन्न स्थानमा शीतभण्डार स्थापना गर्न पहल गर्ने उल्लेख छ ।
त्यसैगरी कृषि क्षेत्रको विकासको लागि सिँचाइमा जोड दिँदै जमुनी, तियर, अडुवा, थलही जस्ता नदीको मुल संरक्षण गरी पक्की सिँचाइ नहर निर्माण गर्ने, सिम्रौनगढमा व्यवस्थित बस पार्कको निर्माण गर्ने र कचोर्वा छोटी भन्सार संचालन गर्ने र सतुही नाका खोल्न पहल गर्ने जस्ता विषयलाई समेटेर प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।


