सिम्रौनगढमा कर्मचारी आन्दोलन चर्किँदै, भोलि धर्ना

साझेदारी दैनिक
242 पाठक संख्या

कलैया : बाराको सिम्रौनगढ नगरपालिकामा कर्मचारी आन्दोलनका कारण पछिल्ला दुई दिनदेखि सम्पूर्ण सेवा प्रवाह ठप्प भएको छ। कार्यालय परिसरमै प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर साह लहेरामाथि दुव्र्यवहार भएको घटनापछि कर्मचारीहरूले सुरक्षा सुनिश्चित नभएसम्मका लागि अनिश्चितकालीन रूपमा सेवा प्रवाह बन्द गरेका हुन्।

कर्मचारीहरूको अनुसार सोमबार नगर उपप्रमुख नजमु शेहरले कार्यालय परिसरभित्रै प्रमुख प्रशासकीय अधिकृत लहेरामाथि दुव्र्यववहार गरेपछि कार्यस्थल असुरक्षित बनेको ठहर गर्दै आन्दोलनमा उत्रिनु परेको हो। घटनाप्रति गम्भीर आपत्ति जनाउँदै कर्मचारीहरूले उक्त व्यवहार निन्दनीय र अमर्यादित भएको बताएका छन्।

घटनाको छानबिन र कानुनी कारबाहीका लागि दबाब दिने उद्देश्यले नगरपालिका अन्तर्गतका कर्मचारीहरूले बुधबार ३१ सदस्यीय कर्मचारी संघर्ष समिति गठन गरेका छन्। जिन्सी शाखा प्रमुख सुरेश प्रसाद यादवको संयोजकत्वमा गठन भएको समितिले जिल्ला प्रशासन कार्यालय बारा तथा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउने तयारी समेत गरेको जनाएको छ।

संघर्ष समितिका संयोजक यादवले प्रमुख प्रशासकीय अधिकृतमाथि भएको दुव्र्यवहारको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही नगरे थप कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिएका छन्। संघर्ष समितिले आगामी माघ २ गते शुक्रबार कर्मचारीहरूले प्लेकार्डसहित -याली निकाल्दै नगरपालिकाको मुख्य गेट अगाडि धर्ना दिने कार्यक्रम तय गरिएको जानकारी दिएको छ।

यसैबीच आन्दोलनरत कर्मचारीहरूले जारी गरेको विज्ञप्तिमा कर्मचारीहरूको सुरक्षा, सम्मान र सुरक्षित कार्य वातावरण सुनिश्चित नभएसम्म अत्यावश्यक सेवा तथा शिक्षण संस्था बाहेक नगरपालिका अन्तर्गतका सबै कार्यालय र सेवा अनिश्चितकालीन रूपमा बन्द रहने स्पष्ट उल्लेख गरिएको छ।

Leave a review