हत्या गरिएको अवस्थामा महिलाको शव फेला

साझेदारी दैनिक
429 पाठक संख्या

बारा जिल्लामा हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ६ नगौलमा बिहिबार बिहान हत्या गरिएको अवस्थामा एक महिलाको शव बरामद भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले घाँटी थिची हत्या गरिएको अवस्थामा खेतमा अन्दाजी २५ वर्ष उमेर भएको अज्ञात महिलाको शव फेला परेको बताए ।

सल प्रयोग गरेर महिलाको घाँटी थिचिएर हत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखाएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए ।

हत्या दुईदेखि तीन दिन पहिला भएको छ । तराई मूलको जस्तो देखिने शवको अनुहारमा समेत किरा लागिसकेकोले महिलाको पहिचान गर्न कठिनाइ भइरहेको उनले बताए ।

महिलाको मुखमा समेत दुपट्टाको टुक्राहरू भेटिएको कारण मुख थुनेर सोही दुपट्टाले घाँटी थिची हत्या गरिएको हुनसक्ने अनुमान गरिएको छ ।

स्थानीयले बिहीबार विहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै ईलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बारा तालिम प्राप्त कुकुर सहित घटनास्थलमा पुगेको थियो ।

Leave a review

This will close in 0 seconds