निर्वाचनका लागि सरोकारवाला बीच समन्वय, सहकार्य र शान्तिको साझा प्रतिबद्धता

राजेश कुशवाहा
281 पाठक संख्या

कलैया : आगामी फागुन २१ गते सम्पन्न हुन गइरहेको निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्लामा सरोकारवाला निकायहरूबीच समन्वय, सहकार्य र शान्तिको साझा प्रतिबद्धता व्यक्त गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले आईतबार जिल्ला समन्वय समिति बाराको सभाहलमा आयोजना गरेको पत्रकारहरु संगको समन्वय बैठकमा बोल्दै चार वटै क्षेत्रका निर्वाचन अधिकृतहरुले यस्तो प्रतिबद्धता गरेका हुन ।

उक्त बैठकमा बाराका चार वटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतहरु शम्भु कुमार बस्नेत, किरण कुमार सिंह,लगायतकाले सञ्चारकर्मीलाई सहज रुपमा सुचना उपल्बध गराईने बताए । बैठकमा बोल्दै बाराका बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्राले निर्वाचन लाई लक्षित गरी सुरक्षा रणनिती तयार गरिएको समेत बताए । उनले निर्वाचनलाई स्वच्छ , निष्पक्ष एवम् मर्यादित रुपमा सम्पन्न गर्नका लागि बिभिन्न सुरक्षाका योजनाहरु बनाईएको जानकारी गराए । उनले निर्वाचन अचार सहिता बिपरित कार्य गर्नेलाई कारवाही गरिने समेत चेतावनी दिए ।

सहभागीहरूले निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएकाले कुनै पनि किसिमको डर, दबाब, हिंसा र अवाञ्छित गतिविधि हुन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्। सुरक्षा निकायका प्रतिनिधिहरूले निर्वाचन अवधिभर शान्ति–सुरक्षा कायम राख्न विशेष सुरक्षा योजना लागू गरिने जानकारी गराउँदै नागरिक र राजनीतिक दलको सक्रिय सहयोग अपरिहार्य रहेको बताए।

उनीहरूले कुनै पनि शंकास्पद गतिविधि वा घटना भएमा समयमै सूचना दिन आग्रहसमेत गरे।स्थानीय तहका प्रतिनिधिहरूले निर्वाचन व्यवस्थापनमा प्रशासन र सुरक्षा निकायसँग पूर्ण सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै मतदान केन्द्रको व्यवस्थापन, मतदाता सचेतना र सहजीकरणमा आफूहरू सक्रिय रहने बताए। राजनीतिक दलका प्रतिनिधिहरूले आचारसंहिता पालना गर्ने, समर्थकलाई संयमित बनाउन पहल गर्ने र प्रतिस्पर्धालाई मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरे।त्यसैगरी नागरिक समाज र सञ्चारकर्मीहरूले निष्पक्ष सूचना प्रवाह, अफवाह नियन्त्रण र सामाजिक सद्भाव कायम गर्न आफ्नो भूमिका जिम्मेवार ढंगले निर्वाह गर्ने धारणा राखे।

उनीहरूले निर्वाचनका बेला भ्रामक सूचना र उत्तेजक अभिव्यक्तिले समाजमा नकारात्मक असर पार्न सक्ने भएकाले सबै सचेत हुनुपर्ने बताए।बैठकको निष्कर्षमा आगामी फागुन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन निरन्तर समन्वय, नियमित सूचना आदान–प्रदान र आपसी विश्वास अपरिहार्य रहेको ठहर गरिएको छ। सरोकारवालाहरूले निर्वाचन केवल एक प्रक्रिया नभई लोकतन्त्रलाई बलियो बनाउने साझा अवसर भएको निष्कर्ष निकाल्दै शान्ति र सहकार्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहो-याएका छन्।

समन्वय, सहकार्य र शान्तिको यही साझा प्रतिबद्धताले निर्वाचनलाई सफल बनाउने विश्वास व्यक्त गरिएको छ। निर्वाचनलाई लक्षित गर्दै प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूबीच समन्वय बैठक सम्पन्न भएको हो। बैठकमा निर्वाचनको पूर्वतयारी, सुरक्षा रणनीति, आचारसंहिता पालना, सम्भावित चुनौती तथा त्यसको समाधानका उपायबारे गहन छलफल गरिएको थियो।

मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीको अध्यक्षतामा भएको उक्त बैठकमा जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र कुमार साह, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक नरेन्द्र कुंवर, सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणका सशस्त्र प्रहरी उपरिक्षक खुमबहादुर केसी, श्री रिपुमर्दन गणका प्रमुख सेनानी अशोक कुमार क्षेत्री ,राष्ट्रिय अनुसन्धान कार्यालय बाराका उप निर्देशक सरोज निरौला, जिल्ला निर्वाचन अधिकारी नविन चौधरी, नासु मुकेश कुमार सिंह, लेखा अधिकृत रामबिनय मुखिया, लगायतको सहभागिता रहेको थियो ।

यसैगरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले आईतबारै राजनैतिक दलका प्रतिनिधीहरु संग समेत छलफल गरेको छ ।

Leave a review

This will close in 0 seconds