डुमरवाना । नेपाली कम्युनिस्ट पार्टीबाट बारा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार भरत साहले ‘जेनजी आन्दोलन’को पृष्ठभूमि तत्कालीन एमाले नेतृत्वको सरकारका कारण सिर्जना भएको दाबी गरेका छन्।
उनले सोही सरकारका तर्फबाट भोट माग्न आउने प्रतिनिधिलाई जनताले अस्वीकार गर्दै गाउँ–गाउँबाट लखेटेर पठाउनुपर्ने अभिव्यक्ति दिएका छन्।
बारा क्षेत्र नं. ३ को क्षेत्रीय भेला जीतपुरसिमरा उपमहानगरपालिका–१८ बडहर्वामा सम्बोधन गर्दै साहले जेनजी आन्दोलन कुनै आकस्मिक घटना नभई सरकारको गलत नीति, दमनकारी सोच र जनविरोधी निर्णयहरूको प्रतिफल भएको बताए।
उनका अनुसार भ्रष्टाचार नियन्त्रणमा असफलता, जनचाहनाअनुसार काम गर्न नसक्नु तथा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धले जनताको सहनशीलताको सीमा नाघेको थियो, जसका कारण युवाहरू आन्दोलनमा उत्रन बाध्य भए।
उनले त्यसबेला सरकारमा सहभागी रहेको नेपाली कांग्रेसले समेत जनताको पक्षमा स्पष्ट र जिम्मेवार भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गरे। जनताको आवाज सुन्ने सट्टा सत्ता स्वार्थमा केन्द्रित दलहरूलाई अब बाइपास गर्दै, भोट माग्न आउने तिनका प्रतिनिधिहरूलाई गाउँ–गाउँबाट लखेटेर अघि बढ्नुपर्ने समय आएको उनको भनाइ थियो।
कार्यक्रममा साहले आगामी निर्वाचनलाई जनविरोधी शासन, भ्रष्टाचार र दमनको विरुद्ध जनताले दिने ऐतिहासिक अवसरका रूपमा चित्रण गरे। युवाको नेतृत्व, पारदर्शी शासन र जनउत्तरदायी राजनीतिमार्फत मात्र देशको वास्तविक परिवर्तन सम्भव हुने भन्दै उनले जनतालाई सचेत र निर्णायक भूमिका निर्वाह गर्न आग्रह गरे। क्षेत्रीय भेलामा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।


