निजगढमा श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव सुरु

संदिप प्रसाद यादव
280 पाठक संख्या

सन्तोष पाण्डे : निजगढ / बाराको निजगढ नगरपालिका–६ स्थित सडक टोलमा आयोजित श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव बुधबारबाट सुरु भएको छ। श्रीकृष्ण प्रणामी मन्दिर, सडक टोलको आयोजनामा माघ २७ गतेसम्म सञ्चालन हुने सप्तदिवसीय महामहोत्सवको औपचारिक उद्घाटन श्रीकृष्ण प्रणामी धर्माचार्य अनन्तश्री विभूषित जगद्गुरु आचार्य श्री १०८ कृष्णमणिजी महाराजज्यूले कलश अनावरण तथा दीप प्रज्वलन गरी गर्नुभएको हो।

उद्घाटनअघि बुधबार बिहान मन्दिर परिसरबाट विशाल कलश यात्रा निकालिएको थियो। कलश यात्रामा हात्ती, घोडा, पालकी तथा रथको प्रयोग गरिएको थियो। हजारौँ श्रद्धालु सहभागी कलश यात्राले निजगढ नगरपालिकाका विभिन्न भागको परिक्रमा गरी पुनः मन्दिर परिसरमा पुगेर समापन भएको महामहोत्सव मूल समारोह समितिका महासचिव प्रकाश सापकोटाले जानकारी दिनुभयो।

कलश यात्रा पश्चात् आयोजित उद्घाटन समारोहमा मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, निवर्तमान सांसद तथा नेकपा एमालेका बारा क्षेत्र नं. १ का उम्मेदवार अच्युत मैनाली, नेपाली कांग्रेसका उम्मेदवार शम्भुबहादुर बुढाथोकी, पूर्वमन्त्री पुरुषोत्तम पौडेल, निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरी, पूर्वनगरप्रमुख सुरेश खनाल लगायतको उपस्थिति रहेको थियो।

यसअघि आयोजित कलश यात्रा तथा उद्घाटन समारोहमा श्री १०८ अमृतराज महाराजजी, श्री १०८ विदुषी तारा माताजी, श्री १०८ सुरेन्द्र महाराजजी, श्रीकृष्ण प्रणामी धर्मप्रचारक तथा केन्द्रीय प्रवक्ता कृष्णप्रसाद सापकोटा लगायत देश–विदेशका सन्त–महाजनहरूको सहभागिता रहेको मूल समारोह समितिका अध्यक्ष यादवप्रसाद तिमल्सीनाले जानकारी गराउनुभयो।

महामहोत्सवका अवसरमा वैदिक अनुष्ठानअन्तर्गत मण्डप अनुष्ठान, नित्य हवन, वेदपाठ, श्रीमद्भागवत पाठ, अन्नप्राशन, व्रतबन्ध, गुन्युचोली, ग्रहपूजन, वास्तुपूजन लगायतका वैदिक कर्मकाण्डहरू पनि एकसाथ सुरु गरिएको आयोजक समितिले जनाएको छ।

श्रीमद्भागवत महापुराण कथा महन्त श्री १०८ सुधाकर महाराज (मंगलधाम, सिक्किम) बाट प्रवाहित हुने छ भने श्रीमत्तारतम सागर ब्रह्मवाणी चर्चा मृदुभाषी माताजी उषा घिमिरे (मेहेरसागर कृपासिन्धु गुरुकुल, सिमरा) द्वारा संगीतमय रूपमा प्रस्तुत गरिने आयोजक समितिले जनाएको छ।

महामहोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूद्वारा प्रस्तुत भजन–कीर्तन, गरबा रास नृत्य तथा विविध सांस्कृतिक कार्यक्रमहरू मार्फत सम्पूर्ण वातावरणलाई श्रीकृष्णमय बनाइने महामहोत्सव आयोजक समितिका संयोजक साहित्याचार्य जनार्दन घिमिरेले जानकारी दिनुभयो।

Leave a review

This will close in 0 seconds