कलैया : बाराका अधिवक्ता एकरामुल हकलाई योजनाबद्ध रूपमा हनी ट्रयापमा पारेर फसाइएको बारा जिल्ला अदालत बार एसोसिएसनले ठहर गरेको छ । बिहीबार कलैयास्थित बारा जिल्ला अदालत बार एसोसिएसनले सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत यस्तो ठहर गरेको हो ।
पत्रकार सम्मेलनमा सचिव समसोद्दिन हवारीले गत माघ ५ गते अधिवक्ता हकविरुद्ध जबर्जस्तीकरणीसम्बन्धी जाहेरी दर्ता भई अनुसन्धान भइरहेको विषयमा सामाजिक सञ्जाल तथा अनलाइन माध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन ।
कानुनको शासन, स्वतन्त्रता, समानताको हक तथा न्याय प्राप्तिमा पारदर्शिता कायम गर्न बार एसोसिएसन सदैव प्रतिबद्ध रहेको पत्रकार सम्मेलनमा सचिव हवारीले उल्लेख गरे। अनुसन्धानबाट अधिवक्ता हक दोषी ठहरिए कानुन बमोजिम कारबाही र सजायमा बारको कुनै विमति नहुने पनि स्पष्ट गरिएको छ।
सचिव हवारीका अनुसार पीडितलाई आवश्यक कानुनी सहयोग हुने कुरामा पनि विवाद छैन। तर घटनाको वास्तविकता फरक रहेको दाबी गर्दै उनले भने, “अधिवक्ता हकलाई पीडितका अभिभावकसँग भेट गराउने बहानामा कलैयाबाट सिमरास्थित एक होटलमा बोलाइयो। होटलमा पहिलो पटक जाँदा कोही नआएपछि उनी फर्किए। पुनः बोलाइएपछि पाँच मिनेट बस्नुस् आउँदै हुनुहुन्छ भनियो र सोही क्रममा पूर्व नियोजित योजनाअनुसार ५–६ जनाको समूह प्रवेश गरी निर्घात कुटपिट गरियो र लुगा फुकालेर फसाइयो।” पत्रकार सम्मेलनमा बारका सचिव हवारीले जानकारी गराए ।
दुवै पक्षका आ–आफ्ना बयान रहेकै अवस्थामा प्रहरी अनुसन्धानबाट दोषी ठहर हुनुअघि नै सामाजिक सञ्जाल र अनलाइन माध्यममार्फत अभियुक्तसरह प्रस्तुत गरिनु कानुनी शासनको उपहास भएको सचिव हवारीको भनाइ छ।
उनले अभियोगकै आधारमा कसैलाई कुटपिट गर्ने, अमानवीय व्यवहार गर्ने, भिडियो खिचेर सार्वजनिक गर्ने जस्ता कार्य पूर्व नियोजित रहेको दाबी गरे। “होटलमा प्रवेश गरेको ३–४ मिनेटभित्रै समूहगत रूपमा कोठामा पसी कपडा जबर्जस्ती खोली अर्धनग्न बनाई कुटपिट गर्नु, सार्वजनिक स्थानमा ल्याई पिट्नु र भिडियो सामाजिक सञ्जालमा भाइरल गर्नु नै हनी ट्रयापको स्पष्ट प्रमाण हो,” सचिवले भने।
घटनामा संलग्न व्यक्ति तथा समूहको पहिचान गरी कानुनी दायरामा ल्याउन र कडा कारबाही गर्न बार एसोसिएसनले सम्बन्धित निकायसँग जोडदार माग गरेको उनले जानकारी दिए। सचिव हवारीले केटीको गिरोहले बदला लिने उद्देश्यले जालो रचेको आरोप लगाउँदै अधिवक्ता हकमाथि आक्रमण र अमानवीय व्यवहार गर्नेहरूको खोजी भइरहेको र कानुनी कारबाही अघि बढाएको पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।

