आजपा उम्मेदवार विजय यादव ‘निर्विज’को चुनावी प्रतिबद्धता पत्र सार्वजनिक

साझेदारी डेलि
209 पाठक संख्या

बारा :बारा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका आम जनता पार्टी (आजपा) का प्रतिनिधि सभा सदस्य उम्मेदवार विजय यादव ‘निर्विज’ले बुधबार प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। बारा जिल्लाको कोल्हवीस्थित निर्वाचन परिचालन सम्पर्क कार्यालयमा बारा निर्वाचन क्षेत्र नं. १ का मतदातासामु उनले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन्।

देशमा बढ्दो निराशा, भ्रष्टाचार, दलाली प्रवृत्ति र कमजोर शासन व्यवस्थाको अन्त्य गर्दै जनताको प्रत्यक्ष शासन स्थापना गर्ने लक्ष्य यादवको छ। “अबकी बार जनता सरकार” भन्ने मूल नारालाई आफ्नो अभियानको केन्द्रमा उनले राखेका छन्। जनताको जीवनस्तर सुधार, विकास निर्माण, सुशासन र समृद्ध बारा निर्माणका लागि ठोस र व्यवहारिक योजनासहित उनी चुनावी मैदानमा उत्रिएका हुन्। उम्मेदवार यादवले २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन्।

बारा जिल्लाको समग्र विकासका लागि पर्यटन तथा ऐतिहासिक पहिचान भएको ऐतिहासिक सिम्रौनगढ क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल गर्ने उनको प्रतिबद्धता छ। पातालगंगा क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उनले जनाएका हुन्। आर्थिक र औद्योगिक विकास भन्सार स्थापना तथा व्यापार प्रवद्र्धनका लागि सशक्त पहल गर्ने प्रतिबद्धता उनको छ। जडीबुटी तथा स्थानीय स्रोतसाधनको आधुनिक व्यवस्थापन गर्ने प्रतिबद्धता उनको छ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र निर्माणका लागि निर्णायक पहल गरिने जनाइएको छ। शून्य कर नीति मार्फत उद्योग र उत्पादन प्रवद्र्धन गर्ने प्रतिबद्धता उनको छ। कृषि आधुनिकीकरण तथा किसानका लागि पेन्सन व्यवस्था,युवा रोजगार अभियान चलाउने उनको प्रतिबद्धता रहेको छ। “हर हातमा हुनर” अभियानमार्फत युवालाई सीप र रोजगार दिइनेछ। पूर्वाधार विकास,हरेक गाउँमा राजमार्ग तथा कृषि सडक विस्तार,घर–घरमा नाला र बस्ती–बस्तीमा ढल व्यवस्थापन गरिने प्रतिबद्धता उनको रहेको छ।

निःशुल्क विद्युत सेवासहित मजबुत ऊर्जा पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता उनको रहेको छ। हरेक खेतमा आधुनिक सिंचाइ सुविधा पु-याइने छ। आवास तथा शहर विकास,ल्यान्डपुलिङ मार्फत व्यवस्थित नयाँ शहर निर्माण गरिनेछ। गरिब, दलित र भूमिहीनका लागि आवास र जमीन सुनिश्चितता दिइनेछ। शिक्षा, स्वास्थ्य र प्रविधिको विकास गरिनेछ। गुणस्तरीय शिक्षाका लागि आधुनिक शैक्षिक पूर्वाधारको विकास गर्ने प्रतिबद्धता उनको छ।

प्रत्येक नगरमा मोडेल अस्पताल स्थापना गर्ने प्रतिबद्धता उनको छ। मजबुत इन्टरनेट संरचना तथा निःशुल्क वाइफाइ सेवा प्रदान गरिनेछ। सामाजिक सुविधा,घर–घरमा ग्यास चुलो र सिलिन्डर व्यवस्था,हरेक नगरमा खेलमैदान तथा खेलाडीका लागि उच्च सुविधा दिने प्रतिबद्धता उनको छ। “जनताको आवाज संसदमा पु-याउने मेरो संकल्प हो” उनले भनेका छन्।

प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उम्मेदवार यादवले बारा–१ का जनताको पीडा, आवश्यकता र अपेक्षालाई संसदमा पु-याएर समाधान गर्ने वचनबद्धता व्यक्त गरेकाछन्। अबको निर्वाचन परिवर्तन र जनताको सरकार निर्माण गर्ने ऐतिहासिक अवसर रहेको उनले बताएका छन्। उनले जनताको विश्वास र समर्थन बिना परिवर्तन सम्भव नहुने जनाए।योसँगै बारा–१ मा चुनावी माहोल थप सक्रिय, उत्साहित र परिवर्तनमुखी बन्दै गएको देखिएको छ।

उक्त कार्यक्रममा आम जनता पार्टीकी महिला नेतृ तथा समानुपातिक उम्मेदवार उपाध्यक्ष एलिजा गौतमको विशेष उपस्थिति रहेको हो। समानुपातिक उम्मेदवार रञ्जु चौधरी, बारा जिल्ला अध्यक्ष राजकिशोर साह, सचिवालय सदस्य रामशरण यादव लगायत नेताहरूको सो कार्यक्रममा उपस्थिति रहेको थियो।

Leave a review